‘हलेसी साईनो स्टार’को दोस्रो अडिशनका लागि ७४ प्रतिभा छनोट

Halesi
0 Shares

खोटाङ, १० माघ ः एक महिना अघिदेखि जारी गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को जिल्लास्तरीय अडिसनबाट ७४ जना प्रतिभा छनौट भएका छन् । दुई नगर तथा आठ गाउँपालिकाका ११ स्थानमा गरिएको अडिसनबाट छनोट भएका प्रतिभामध्येबाट जिल्लास्तरको दोश्रो अडिसनका लागि ७४ जना प्रतिभा छनोट भएका हुन् ।
जिल्लाको हरेक स्थानीय तह र दिक्तेल रुपाकोट मझुवागढी–१४ को बुइपामा स्थानीय स्तरको अडिसन सम्पन्न गरिएको थियो । स्थानीय तहमा गरिएको अडिसनबाट जिल्लास्तरको पहिलो अडिसनका लागि छनोट भएको ११८ जना प्रतिभाले बुधबार र बिहिबार दिक्तेलको समीक्षालय हलमा जिल्लास्तरको दोश्रो चरणको अडिसनका लागि प्रस्तुति दिएका थिए ।
गीतसँगीत तथा नृत्य क्षेत्रलाई व्यवसायिकता दिन जिल्लामा स्थापित साईनो कला केन्द्र र हलेसी टाईम्स दैनिक पत्रिकाले संयुक्त रुपमा आयोजना गरेको एकल गायन प्रतियोगिता अन्तर्गतको जिल्ला स्तरीय दोश्रो अडिसन समीक्षालय हलमा शुक्रबारबाट नै सञ्चालन गरिने आयोजकले जनाएको छ । जिल्ला स्तरमा हुने दोश्रो र तेश्रो चरणको अडिसनबाट उत्कृष्ट २० छनोट गरी भोटिङ सिष्टम समेत लागु गर्ने बताइएको छ ।
जिल्लास्तरीय अडिसनका लागि सँगीत प्रशिक्षक समेत रहनुभएका गायक तथा सँगीतका मण्डल साम्पाङ र गायक तथा सँगीतकार पृथी जिम्बा निर्णायकमा रहनुभएको थियो । प्रतियोगिताको अडिसन गत पुस ९ गतेदेखी शुरु गरिएको हो ।
प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५५५ रुपैंयाँका साथमा ट्रफि, प्रमाणपत्र तथा गीत रेकर्डिङ र एक वर्ष निःशुल्क सँगीत कक्षाका अवसर प्राप्त गर्नेछन् । यस्तै, द्वितीयले नगद ३० हजार रुपैंयाँको साथमा ट्रफि, प्रमाणपत्र र एक वर्ष निशुल्क सँगीत कक्षा तथा तृतीयको लागि १५ हजार रुपैंयाँ नगदसहित एक वर्ष सँगीत कक्षा, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिएको संयोजक प्रमोद श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया