अक्रा। सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् । उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको पनि जानकारी दिएका छन् । देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले एएफपीलाई भन्नुभयो ।
दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो । “क्षेत्रीय सुरक्षा परिषद् र जिल्ला सुरक्षा परिषद्का अधिकारीहरु आउदैछन्, उनीहरुसँगै हामी पनि स्थानीय समुदायसँग छलफलका लागि जादैछौँ, उनीहरुसँग छलफल गरेर हामीले सूचना संकलन गर्नेछाँै,” उहाँले भन्नुभयो । दुर्घटनामा पिडित भएकाहरु अवैध मजदुर रहेका छन्, उनीहरु कोही पनि उनीहरुको आधिकारीक कर्मचारी नभएको बताइएको छ
घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरु पनि संलग्न भएको पाईन्छ । सुन खानीमा धेरै दिर्घकालिन समस्याहरु रहेकाले यस्ता दुर्घटनाहरु बेला बेलामा भइरहने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए । एएफपी