काठमाडौं । शुक्रबार संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको होे । शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर, कांग्रेस जुनकुनै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरूले दिएका छन् । दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।
संसद् बैठकमै सय मर्यादापालक खटाइनेछन् । ‘आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ,’ मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने । आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राखिने उनले बताए ।
संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडानमा नेकपा छ । कांग्रेसले भने सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान थपेको छ । यसअघि उसले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएकोमा संसद अवरुद्ध गर्दै आएको छ ।
नागरिक अगुवाले सामूहिक गिरफ्तारी दिने
डा। केसीको माग पूरा गराउन नागरिक अगुवाहरूले सामूहिक गिरफ्तारी दिने भएका छन् । उनीहरूले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै सामूहिक गिरफ्तारी दिने कार्यक्रम तय गरेका हुन् । बिहीबार सोलिडारिटी फर डा। केसी अलाएन्सले गरेको कार्यक्रममा सहभागीहरूले केसीका माग पूरा गराउन सामूहिक गिरफ्तारी दिने निर्णय गरेको बताए । गिरफ्तारीका दिने कार्यक्रम शनिबार पनि हुने उनीहरूको भनाई छ । संविधानसभा भवनअगाडिको निषेधित क्षेत्र शान्तिपूर्ण रूपमा तोड्दै गिरफ्तारी दिने नागरिक अगुवा कृष्ण पहाडीले बताए ।
नागरिक अगुवाहरूले १५औँ अनशनका क्रममा सरकारले गरेका सहमति पूरा गर्न आग्रह गरेका छन् । केही अगुवाले केसी मात्रै नभई अरू पनि अनशनमा उत्रिनुपर्ने बताए । अधिवक्ता श्रीहरि अर्यालले विगतमा गरेका सहमति इमानदारिताका साथ पूरा गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीले चाहे ह्विप जारी गर्न सक्छन् । आफूले गरेको सहमति पूरा गर्न सक्दैनन् भने उनी प्रधानमन्त्री हुन सक्दैनन् ।’
मानवअधिकारकर्मी कपिल श्रेष्ठले केसीका लागि सामूहिक गिरफ्तारी दिन आफूहरू तयार भएको बताए । उनले यस्तो अवस्था आउन नदिन पनि सरकारलाई आग्रह गरे ।
नयाँपत्रिकाबाट