काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछि बैठकबाट बाहिरिने क्रममा उहाँले सो प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलबाट सदनको ‘वेल’ घेरिएका अवस्थामा सभामुखले विधेयक पारित प्रक्रिया अघि बढाएर पदको गरिमानुसारको आचरण नगरेको भनी दुःख व्यक्त गर्नुभयो ।
“विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन, म प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा मनमोहनजीले ‘वेल’ घेर्दा मैले सदन बन्द गर्न आग्रह गरी वार्ता गरेर अघि बढेको थिएँ”, उहाँले भन्नुभयो, “ ‘वेल’ घेरेको बेलामा वार्ता गर्नुको सट्टा जबर्जस्ती विधेयक पारित भएको छ, एकलौटी ढङ्गले विधेयक पारित भएको छ ।”
प्रा डा गोविन्द केसीको अघिल्लो अनशन भएका बेला सम्झौता गरेर आफू नेतृत्वको सरकारले अध्यादेश जारी गरेपछि अनशन तोडेको स्मरण गर्दै सभापति देउवाले अहिले सरकारले जबर्जस्ती गरेको टिप्पणी गर्नुभयो ।
उहाँले काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापना भएको श्वासप्रश्वास केन्द्र र अर्का नेता सुशील कोइरालाका नाममा बाँकेमा खुलेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई वर्तमान सरकारले विघटनको सङ्घारमा पु¥याएको आरोप लगाउनुभयो ।
गिरिजाप्रसादका नाममा स्थापना भएको श्वासप्रश्वास केन्द्रलाई आफ्नो भारत भ्रमणका बेला सहयोग गर्ने सहमतिसमेत भएको जानकारी दिँदै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारले श्वासप्रश्वास र क्यान्सरजस्तो संवेदनशील अस्पताल पनि खत्तम गर्न खाजेको टिप्पणी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “सरकारले काङ्ग्रेसका नेताको नाम मेट्न खोजेको छ, गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउँथ्यो, कहाँबाट संविधानसभाबाट संविधान आउँथ्यो, सुशील कोइराला नभएको भए कहाँबाट संविधान जारी हुन्थ्यो रु” दुई नेताको मानमर्दन हुने काम गरिएको भनी निन्दा गर्दै उहाँले यस विषयमा सदन र सडकमा काङ्ग्रेसको विरोध कायम रहने जानकारी दिनुभयो ।