खोटाङ, १२ माघ । पाँचवर्षअघि करेण्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङ नेर्पाका हरिकाजी ढुंगानालाई सहयोग जुट्न थालेको छ । आज शनिबार मात्रै ढुंगानाको उपचारका लागि पाँच लाख ५६ हजार रुपैया रकम प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।
त्यस्तै, गलकोट समाज जापान बाट ४ लाख र माल्बुल प्रेमी र साथीहरु हङकङ बाट प्राप्त ४५ हजार सहयोग रकम शनिबारै नयाँ नयाँ न्यूज नेपाल युथट्युव च्यानलका शिशिर भण्डारीले सहयोग हस्तान्तरण गरेका छन् भने काठमाडौ लिला घिमिरेको पहलमा कर्मचारी तथा व्यक्तिहरुबाट प्राप्त संकलित ६१ हजार सातसय रुपैया कृष्ण गिरीले आजै हस्तान्तरण गरेका छन् ।
फोटोकथा :
भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै ।
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुग्नुभएको हो । उहाँ भन्नुहुन्छ दाङका कृष्ण वली भाईलाई सयौँले सहयोग दिए भन्नु सुन्छु । मपनि सहयोगको अपेक्षामा छु । म मात्र हाँस्न हैन ८० बर्ष नाँघेका बृद्ध बाबु–आमा र दुधे बालबच्चा बचाउन चाहान्छु । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी केही वर्ष पहिलेसम्म गाउँकै सबैभन्दा बलिया युवा हुनुहुन्थ्यो ।
हात खुट्टा छँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल पु¥याउनेदेखि गाउँमा नयाँ घर बनाउनेका लागि सिङ्गो निदाल काँधमा हाल्ने हरिकाजी मात्रै हुनुहुन्थ्यो । त्यही साहसिक व्यक्ति भएकै कारण हरिकाजीले विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रमा तार तान्नेदेखि पोल ठड्याउने र मिलाउने प्राविधिकको जागिर पाउनुभएको हो ।
सबै मानिसका लागि उज्यालो दिन बनाइएको विद्युत् अहिले ३७ वर्षीय हरिकाजीको जीवनका लागि भने अहिले अन्धकार छाउने माध्यम बन्न पुगेको छ । अरुलाई उज्यालो दिन बिजुलीको तार जोड्न पोलमा चढ्नुभएका हरिकाजीले करेन्ट लागेसँगै दुवै हात र एउटा दाहिने खुट्टा गुमाउनुभएको हो । करेन्टले डढेर हातखुट्टा पग्लिएपछिको उहाँको हातखुट्टा प्लास्टिकको डण्डी जस्तै देखिन्थ्यो । हरिकाजीलाई बचाउन काठमाडौँस्थित विएण्डबी अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाँहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।
उमेर ढल्कँदै गएको बुबाआमाका साथमा बस्नुभएका हरिकाजीको त्यो बेला श्रीमतीको पेटमा हुर्कदै गरेको नासो थियो । दुर्घटनामा परेको केही महीनापछि हरिकाजीका श्रीमती सीताले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिनुभयो । आँखाबाट आँसु बगाउँदै हरिकाजीका श्रीमती सीताले भन्नुभयो, “उहाँको शरीर मात्र बचाउन सके पनि ठूलो प्राप्ति भएको छ”, उहाँले थप्नुभयो, “अहिले देब्रे खुट्टाका केही औँलासमेत छैनन् । दुई हात र दाँहिने खुट्टाको माथिल्लो भागमै काटेर फालिएको चार वर्ष भयो । अहिले उहाँ शरीर मात्र लिएर बाँचिरहनुभएको छ । सारा गाउँबस्ती उज्यालो पार्न हिँड्नुभएका उहाँको अहिले जीवन नै अन्धकार भएको छ ।”
शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिका नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहाराविहीन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् । हरिकाजीको परिवारलाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा रहेको बचत हिसाब नं ११२००२१९७३१० गर्न सकिने छ ।
घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैंक खाता खोलिएको हो । कमाएर ल्याउने हरिकाजीकै हालत यस्तो भएपछि उनीहरुका आँखा अहिले ओभाएका छैनन् ।