काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उहाँका स्वीकय सचिव महेश विष्टले जानकारी दिनुभयो ।
गत पुस २३ गते अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उहाँको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो । उहाँको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उहाँको उपचार भइरहेको छ ।
बयासी वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गर्नुभएको छ ।