अत्यधिक हिमपातको कारण उत्तरी गोरखाको जनजीवन कष्टकर

Halesi
0 Shares

गोरखा। गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो ।

हिमपातका कारण सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लाप्राकलगायतका क्षेत्रका बासिन्दा घर बाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन् । “मौसममा सुधार भएसँगै बिहीबार केही कम भएको थियो”, धार्चे गाउँपालिका–४ लाप्राकका भीमराज गुरुङले भन्नुभयो, “शुक्रबार बेलुकीदेखि उस्तै भएको छ ।” अत्यधिक हिमपात भएपछि घरबाट बाहिर निस्कनसमेत समस्या भएको उहाँको भनाइ छ ।

हिउँले मानिस हिँड्ने पैदल बाटोसमेत ढाकिएपछि ओहोरदोहोर गर्नसमेत समस्या भएको गुरुङले जानकारी दिनुभयो । हिउँले लाप्राकको गुप्सीपाखा क्षेत्र पनि पूरै सेताम्मे बनेको उहाँले बताउनुभयो । भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० निर्माण गर्न गरिरहेको एकीकृत नमूना बस्ती निर्माणको कामसमेत हिमपातका कारण प्रभावित भएकोे छ । त्यस्तै हिउँले जङ्गलमा रहेका बुट्यानसमेत ढाकिएको गुरुङले जानकारी दिनुभयो ।

अहिले करीब तीन फिटसम्म जमेको हिउँका कारण जनजीवन कष्टकर बनेको लाप्राककी आशामाया गुरुङले जानकारी दिनुभयो । “चिसोले गाह्रो भएको छ, घरभित्रै आगो तापेर बसेका छौँ”, उहाँले भन्नुभयो, “चिसोबाट बालबच्चा र वृद्धवृद्धा बढी समस्या भएको छ ।” हिउँका कारण घरपालुवा जनावरलाई पनि घाँस खुवाउन गाह्रो भएको गुरुङको भनाइ छ ।

हिउँले चिसो भए पनि हिउँ परेपछि स्थानीयवासी भने खुशी भएका उहाँले बताउनुभयो । हिउँ परेपछि जमीन मलिलो हुने र खेतीपाती राम्रो हुनेहँुदा किसान खुशी भएको गुरुङले जानकारी दिनुभयो । अहिले उत्तरी गोरखाको विभिन्न क्षेत्र हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया