दिक्तेल–खानिडाँडा सडक निर्माण तिव्र गतिमा, ठेकेदार भन्छन् तोकिएकै समयमा काम सकेर देखाउँछु । (फोटोफिचर)

Halesi
0 Shares

डिएम चाम्लिङ राई/
खोटाङ, १३ माघ : जिल्लामा निर्माणाधिन अवस्थामा रहेका अधिकांश सडकहरुमध्ये द्रुत गतिमा काम भईरहेको सडक हो दिक्तेल अस्पतालचौक–आहाले सडक । करीव ११ किलोमिटर लम्वाई रहेको उक्त सडकमा अहिले तिव्र गतिमा काम भईरहेको छ । ठेक्का लागेको १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी याक्थुहाङ–साप–सिरुवा जेभीले २१ करोड १ लाख ८८ हजार रुपैयामा उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लगानीमा कालोपत्रे हुने भएको हो ।

६.२५ मिटर चौडाई रहने उक्त सडकमा ३.७५ मिटरभाग कालोपत्रे गरिने निर्माण कम्पनीका डाईरेक्टर कल्याण दाहालको भनाई छ । गत असोज १ गते राष्ट्रिय पुनर्निमाण प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो । उक्त समयमा ६ किलोमिटर सडकको स्ट्रक्चरको काम सकिएको छ भने भित्ता कटिङको काम सकिएको छ । आगामी फागुन पहिलो हप्तादेखि सववेसको काम थाल्ने तयारी गरिएको उक्त सडकमा हाल ड्रेनको काम भईरहेको छ ।

दशैअघिसम्म ६ किलोमिटर सडकको कालोपत्रेको काम सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताउँदै डाईरेक्टर दाहालले भने तोकिएकै समयमा काम सम्पन्न गर्छु । देशभर ठेकेदारहरुको इमेज बिग्रिएकाले नमूनाका रुपमा काम सकेर देखाउने छु, उनले भने समयमै काम गर्ने व्यवसायीहरु पनि छन् है भन्ने होस् भनेर काम तिव्र गतिमा बढाएको हुँ । यो सडकलाई गत मंसिर १ गते प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया