तीन महीनामा पाँच सय ५० बजार अनुगमन

Halesi
0 Shares

काठमाडौँ। संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि कात्तिक ७ गतेदेखि अनुगमन शुरु गरेको थियो । नियमावली भने अझै बनिसकेको छैन । नियमावली नबने पनि उपभोक्ता हितलाई ध्यान दिई बजार अनुगमन गरी कारवाही शुरु भएको विभागका सूचना अधिकारी रघुनाथ महतले राससलाई जानकारी दिनुभयो ।

संरचनाअनुसार तीन तहको सरकार गठन भएपछि स्थानीय तहको बजार अनुगमन स्थानीय सरकार, प्रदेशस्तरको प्रदेश सरकार र सङ्घीय सरकारले नीति निर्माण एवं अध्ययन अनुसन्धानका काम गर्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । यस अवधिको अनुगमनका क्रममा गोठाटारस्थित भद्रकाली पेट्रोल पम्पले एक लिटरमा ३० मिलिलिटरभन्दा बढी तेल कम दिई ठगी गरेको भेटिएको विभागले जनाएको छ । एक लिटरमा १५ मिलिलिटरसम्म कम भएको हुने जनाइएको छ । पम्पलाई रु दुई लाख जरिवाना गरिएको थियो ।

अनुगमनका क्रममा कतिपय व्यवसायीले खरीद मूल्य नै नदेखाएको, कति सामानमा उत्पादन र उपभोग मिति उल्लेख नगरी बिक्री गरेको भेटिएकाले कारवाही गरिएको विभागले जनाएको छ । तीन महीनाको अवधिमा धेरै उपभोक्ताले अनुगमन गरी कारवाही गर्नुपर्ने माग गरिरहेको विभागले जनाएको छ । नयाँ कानूनअनुसार बजार अनुगमनमा गल्ती गरेको प्रमाणित भए दण्ड जरिवाना नै गर्ने व्यवस्था छ । यसअघिको ऐनमा सुधारका लाग पहल गर्ने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया