हुम्ला । भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ । सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउँपालिकालगायत अन्य सरकारी कार्यालयका कर्मचारी, सर्वसाधरणले हटाएपछि तारा एयरलाइन्सका तीन वटा जहाजले आज उडान भरेका हुन् ।
आजदेखि उडान भरेका तारा एयरका जहाजले नेपागञ्जदेखि चामल ल्याएको एयरका प्रमुख सरस्वती लामाले जानकारी दिनुभयो । हुम्लीको प्रमुख समस्या खाद्यान्न भएकाले खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । हवाई उडान बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको समेत समस्या देखिँदै आएको थियो । आजदेखि हवाई उडान नियमित हुने विमानस्थलले जनाएको छ ।