नेताको घर धाउने प्रहरीलाई महानिरीक्षक खनालले दिए यस्तो चेतावनी

Halesi
0 Shares

काठमाडौं । शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो । ‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा होइन्छ भन्ने भ्रममा नपरे हुन्छ, नेताहरूकोमा धाउनेहरू बढुवामा छुट्ने सम्भावना धेरै छ ।’ प्रहरी अधिकारीहरू सरुवा–बढुवाका लागि नेताहरूकहाँ धाएकै कारण संगठन बलियो हुन नसकेको बताउँदै खनालले यस्तो प्रवृत्ति छाडेर संगठन प्रमुखमै विश्वास गर्नुपर्ने बताएका थिए । अनावश्यक चलखेलमा नलागी संगठनलाई बलियो बनाउनु नै संगठनप्रति योगदान हुने उनको भनाइ थियो । ‘अहिलेसम्मको निर्देशनमा आइजिपीसाब सबैभन्दा कडा रूपमा प्रस्तुत हुनुभएको थियो,’ मुख्यालयका एक अधिकारीले भने ।

हाल नेपाल प्रहरीमा डिआइजीको एक र एसएसपीका १५ पद रिक्त छन् । विवादकै कारण रिक्त पदमा बढुवा सिफारिस हुन सकेको छैन । बढुवाका आकांक्षीहरू शक्तिकेन्द्रमार्फत चलखेलमा लागेका छन् ।  बढुवाका प्रस्ट मापदण्ड नहुँदा पनि सधैँ चलखेल हुने गरेको छ । बढुवा सिफारिस समितिले एक सय पूर्णांकमा ७।५ नम्बर दिने अधिकार छ । जसकारण वास्तविक मूल्यांकनभन्दा पनि पहिला बढुवाको सूची बनाएर त्यहीअनुसार नम्बर मिलाउने विकृति बढ्दै गएको छ ।  यसअघिको बढुवामा पनि ठूला नेतानिकट प्रहरी अधिकारीहरू अग्रस्थानमा बढुवामा परेका थिए । त्यसकारण अहिले बढुवा प्रक्रिया सुरु भएपछि राजनीतिक लबिङ बढेको छ ।

सिन्धुलीका एसपीमाथि कारबाहीको तयारी
प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवमाथि पनि कारबाही प्रक्रिया सुरु गरेको छ । घुस खाएको प्रमाण फेला परेपछि त्यहाँबाट हटाएर उनीमाथि कारबाही अघि बढाइएको हो । गाँजा कारोबारी तथा क्रसर सञ्चालकहरूसँग पैसा लिएको उजुरीमा छानबिन गर्दा वास्तविकता रहेको खुलेपछि उनलाई जगेडापुलमा सरुवा गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको हो । पाँच महिनाअघि उनले राजमार्गमा अवैध रूपमा चल्ने सवारीसाधनबाट पैसा लिएकोमा समेत छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा एसपी चक्रबहादुर सिंहलाई पठाएको छ ।

त्यस्तै, धनुषाका प्रहरी प्रमुख पनि फेरिएका छन् । एसपी गोविन्द थपलियालाई सरुवा गरी धनुषामा शेखर खनाललाई पठाइएको छ । एक वर्षको अवधि पुगेकाले थपलियालाई सरुवा गरिएको हो । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया