सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो । “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।
डा केसीको विषयलाई लिएर आज पनि काङ्ग्रेसले प्रतिनिधिसभाको वैठक अवरुद्ध गरेको थियो । आफ्ना नेताका नामका दुई अस्पताललाई सङ्घ मातहतमा राख्नुपर्ने माग गर्दै संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेपछि उक्त विषयलाई हालैको मन्त्रिपरिषद् बैठकले सम्बोधन गरेको थियो ।
संसद अवरुद्ध गरेको प्रसङ्गमा सञ्चारमन्त्री बाँस्कोटाले डा केसीसँग १६औँ पटकको अनशन बस्दा उहाँसित वार्ताको पहल प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक कस्ले गरेको थियो भनी प्रतिप्रश्न गर्नुभयो । उहाँले दुई प्रस्तावित अस्पतालका सन्दर्भमा पनि प्रतिपक्षी दलले उठाएका माग सम्बोधन भइसकेको सन्दर्भमा सरकारप्रति बारम्बार औँला ठड्याइरहनुपर्ने आवश्यकता नरहेको भन्दै अब ‘ज–जस्ले उहाँ ९डा केसी० लाई धेरै बोक्नुभएको छ, बस्ने ठाउँ नभईकन अन्धाधुन्द जहाज उडाउनुभएको छ, उहाँहरुले नै त्यसको अवतरण गराउनुपर्दछ । ’
सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “सोही विषयमा सरकारलाई बारम्बार अधिनायकवादी र दुई तिहाइको दम्भ भन्ने कुरा पनि उचित हैन । त्यो कुण्ठा हुनसक्छ । तर्क हुन सक्दैन, सत्ता गुमाएकामा पीडा हुनसक्छ । यसको मलमपट्टी अहिलेको सरकारले लगाउन सक्दैन । बेला र प्रक्रिया आएपछि जनताले लगाउनेछन् ।”
सरकारले डा केसीको अनशनलाई बेमतलब गरेको हो भन्ने पत्रकारको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “अनशनको बेमतलब गरेको भए संसद््मा चिकित्सा विधेयक कसरी पेश हुन्थ्यो रु मागको सम्मान गरेर अहिलेको सबै प्रक्रिया अघि बढाई व्यवस्थित र वैज्ञानिक तवरले सुनिश्चित गरियो । अनशनको बढी प्रचार गरियो ।”
सरकारले डा केसीले उठाएको विषयलाई अझ एक कदम अघि बढेर माग सम्बोधन गरिसकेको छ । “ संसद्का दुवै सदनले त्यसलाई पारित गरिसकेका छन् । यो अनशनको बेमतलब हो कि अनशनको औचित्य समाप्त भएको हो । यसतर्फ यहाँहरुले सोचिदिनुपर्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।