अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक मापदण्ड तयार हुन्छः प्रधानमन्त्री

Halesi
0 Shares

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा अब विश्व बजारमा बिक्न सक्ने मापदण्डको हुने बताउनुभएको छ । उहाँले अबको शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन खाँचो रहेको र त्यस लक्ष्य प्राप्तिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

झापाको कमल गाउँपालिका–३ केर्खास्थित शहीद धर्मभक्त माविको स्वर्णमहोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै प्रम ओलीले शैक्षिक सुधार र विकासका लागि सरकार प्रयत्नशील भएको बताउनुभयो । देशको शिक्षा व्यावहारिक हुन नसकेको चर्चा गर्दै उहाँले अब शिक्षालाई व्यावहारिक तथा रोजगारीमूलक शिक्षाका रुपमा विकास गर्न सरकारले काम गर्नेछ भन्नुभयो । उहाँले भन्नुभयो, “देशको शैक्षिक समस्या सुधार गरेर शिक्षाको गुणस्तर अभिवृद्धिसँगै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा बनाउन सरकार दृढ छ ।”

उहाँले सामुदायिक विद्यालयमा तल्लो कक्षाबाटै गुणस्तरीय शिक्षा दिन खाँचो रहेको औँल्याउनुभयो । प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “यदि विद्यार्थीको जग बलियो भएन भने माथिल्लो कक्षामा प्रतिस्पर्धा गर्न सक्दैनन्, त्यसैले जग बलियो बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।” सो अवसरमा प्रधानमन्त्री ओलीले विद्यालयले प्रकाशित गरेको स्मारिका विमोचन गर्नुभयो । उहाँले सो विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका सदस्य तथा हाल प्रदेशसभा सदस्य इन्दिरा राई र शेरबहादुर तेयुङ लगायतका व्यक्तित्वलाई समेत सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्कतकुमार कार्की लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया