काठमाडौँ । गुठी समस्या समाधान सङ्घर्ष समितिले धादिङमा तत्कालीन श्री ५ को वायुगुठीअन्तर्गत बसोबास गर्दै आएका कृषकको जमीन संरक्षणको माग गरेको छ । सरकारले विसं २०७० पछि उक्त गुठीलाई जग्गाधनी बनाई त्यसअन्तर्गतको भूमि भोगचलन गर्दै आएका स्थानीयवासीलाई मोहीको महलमा राखेर लालपुर्जा दिन थालेकाले उनीहरुले त्यसको विरोध गरेका हुन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सांसद खेम लोहनीले विगतमा सो गुठीको जमीन भोगचलन गरी लालपुर्जा प्राप्त गरेका कृषकलाई अहिले पुरानो क्षेत्रफलअनुसार भूमिको स्वामित्व कायम राख्नुपर्ने बताउनुभयो । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले सरकारले गर्न लागेको नयाँ व्यवस्थाअनुसार उक्त नगरपालिका–१०, ११ र डवजोङ गाउँपालिका–५ का करीब एक हजार घरधुरी प्रभावित हुने हुँदा त्यसको विकल्प खोजेर स्थानीयवासीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेसका नेता दिलमान पाख्रिन, राप्रपाका नेता परशुराम तामाङ, गुठी स्थानका पूर्वअध्यक्ष लक्ष्मण ज्ञवाली, सङ्घर्ष समितिका अध्यक्ष ईश्वरीबहादुर लम्साल लगायतले गरीबी न्यूनीकरणलाई सरकारले प्राथमिकता दिनका लागि किसानको कृषि भूमिमा पहुँच विस्तार गर्नुपर्ने बताउँदै भोगचलन गरेको जमीनको स्वामित्व कटौती नगर्न आग्रह गर्नुभयो । उक्त गुठी विसं १८४२ मा लालमोहरबाट स्थापना गरिएको बताइएको छ ।