बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ ।
पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताउनुभयो ।
महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पार्नुभयो । उहाँले अब केही हप्ताभित्र बुटवल नारायणगढ सडक विस्तारको काम पनि शुरु हुने जानकारी दिँदै सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डिपिआर निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो ।