वरीयताक्रममा सोमपालको छलाङ, शीर्षस्थ ४० भित्र पर्ने पहिलो खेलाडी बने पारस खड्का

Halesi
0 Shares

नेपालका क्रिकेट कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अलराउन्डरहरूको वरीयताक्रममा ४०औँ स्थानमा उक्लिएका छन्। क्रिकेटको कुनै पनि वरियताक्रममा शीर्षस्थ ४० भित्र पर्ने खड्का पहिलो नेपाली खेलाडी हुन्।

टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सोमवार प्रकाशित गरेको हो। वरीयतामा नेपालका सोमपाल कामी र वसन्त रेग्मी बलरहरूमध्ये संयुक्त रूपमा ७०औँ स्थानमा छन्।

खड्काको वर्चस्व
यूएईविरुद्धको टी-२० शृङ्खलामा २(१ ले विजयी भएपछि खड्काको वरीयतामा सुधार आएको हो। खड्काको अहिले ७६ रेटिङ अङ्क छ जुन उनले प्राप्त गरेको अहिलेसम्मकै माथिल्लो अङ्क हो। ब्याट्सम्यानहरूको वरीयतामा पनि पाँच स्थान सुधार गर्दै ९० औँ स्थानमा उक्लिएका छन्। खड्काले यूएईविरुद्ध तीन टी-२० खेलमा ५४ रन बनाएका थिए।

खड्काले आफ्नो खेलजीवनमा कूल १५ टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेल्दै एक अर्धशतकसहित २२।३ रन प्रतिखेलको औसतमा २९० रन बनाएका छन्। साथै उनले ती खेलहरूमा ३० ओभर बलिङ गर्दै दुई विकेट लिएका छन्।

खड्काले बीबीसी नेपाली सेवासँग भने,’वरीयतामा माथि पुग्नु उत्साहजनक कुरा हो, यसले आफ्नो करिअरालाई अझ अगाडि बढाउन मद्दत गर्छ। आफ्नो प्रदर्शनले देशलाई जिताउन पाउँदा खुशी लाग्छ।’

सोमपालको छलाङ
वरीयतामा सोमपाल कामीको प्रगति लोभलाग्दो देखिएको छ। टी-(२० वरीयताको बलिङतर्फ उनी ७० औँ स्थानमा छन्। त्यहाँ पुग्न उनले एकैपटक २२ स्थान फड्को मारेका हुन्। उनले र रेग्मीको ४०९ रेटिङ अङ्क छ। कामी अलराउन्डरहरूको सूचीमा समेत ५१‌ औँ स्थानमा छन्।

यूएईविरुद्ध तीन टी-२० खेलमा कामीले ४ विकेट लिनुका साथै २७ रन बनाएका थिए। कामीले आफ्नो खेलजीवनमा १५ टी-२० अन्तर्राष्ट्रिय खेलमा १७ विकेट लिनुका साथै १६ रन प्रतिखेलको औसतमा ११२ रन बनाएका छन्। उनले हङकङविरुद्ध सन् २०१४ मा बनाएको ४० रन अहिलेसम्म पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा १० औँ नम्बरमा ब्याटिङ गर्ने खेलाडीले बनाएको उच्चतम रन हो।

बलिङमा सन्दीप लामिछानेले पनि ३६ स्थान माथि उक्लदै १५९ औँ स्थानमा आइपुगेका छन्।

नेपाल १४औँ स्थानमा

यूएईसँग शृङ्खला जितेपछि नेपाल टी-२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औँ स्थानमा उक्लेको छ। कूल १८ देश रहेको वरीयताक्रममा नेपाल यूएईभन्दा एकस्थान माथि छ। दुवैको ४३ अङ्क समान भए पनि नेपाल थोरै फरकले माथि रहेको आइसीसीले जनाएको छ।

नेपालले यूएईसँग दुबईमा तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। दुवै शृङ्खलामा नेपाल २- १ ले विजयी भएको थियो। वरीयताक्रममा नेपालभन्दा तल यूएई, हङकङ, ओमान र आयरल्यान्ड रहेका छन्।

खड्काले भने, ‘यूएईको मैदानमा यूएईलाई नै हराएर यूएईलाई नै वरीयताक्रममा तल पार्न हाम्रो लागि गौरवको कुरा हो।’ बीबीसी

तपाईको प्रतिक्रिया