० हलेसी खबर संवाददाता/
खोटाङ : केही समयअघि नयाँ शक्ति पार्टीका खोटाङ अध्यक्ष सूर्यबहादुर राईले आफ्नो फेसबुक स्टाटस मार्फत एक विवादास्पद टिप्पणी पोष्ट गरे । उनले पोष्ट गरेको स्टाटसमा विभिन्न व्यक्तिहरुले सकारात्मक र नकारात्मक टिप्पणी गरे । आ–आफ्नो बुझाईमा त्यो टिप्पणी सही थियो या त कतिको मनमा गलत पनि । उनले पोष्ट गरेको विषयलाई राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरुले निकै प्राथमिकता पनि दिए । उनले पोष्ट गरेको स्टाटस धार्मिक सहिष्णृतामाथि बोलिएको अभिव्यक्ति थियो ।
उनले पोष्ट गरेको स्टाटस यस्तो थियो –‘दिक्तेल मझुवा कालिका भगवति मन्दिरमा रगत नचढाउने निर्णय गरियो । कालिका भगवतीको सेवा गर्ने नाउमा दैनिक सयौ बाख्राको पाठी काटि भगवती थानलाई रगताम्य बनाउदै आएको छ । पाठा लगेर जानेले मन्दिरमा पर्छाएर छुट्टै ठाउमा मौल बनाएर बथ गर्ने पनि निर्णय गरिएको छ । यति मात्र होइन यस्ता मन्दिरहरुमा बलि दिने कार्य पुर्ण रुपमा अन्य गर्न जरुरी छ । देवी देवताहरुले कुनै प्राणिको रगत खादैन होला ।’ उनको त्यो स्टाटस पढेपछि धेरैले आधुनिकताको नाममा पुराना धर्मसंस्कार र संस्कृति बिर्सन नहुने तर्क गरेका छन् भने कतिपयले कूलपूजाहरु गर्दा बलि दिईने परम्परा आफ्नै घरबाट अन्त्य गरेर मात्र सार्वजनिक स्थानको कुरागर्न सुझाव दिएका छन् ।
सोही स्टाटस पढेपछि देवराज बस्नेत लेख्छन् –‘बलि दिने काम खासै राम्रो होइन तर यो चली आएको प्रचल्न लाई बिनाश गर्दै जानु पनि खासै उचित भएन । कसैको धर्म माथी नाङ्गो हस्तक्षेप स्वीकार छैन । सक्छौ भने बिदेशी डलर मा बिकेर क्रीस्चियन धर्म परिवर्तन गर्ने प्रवृत्तिलाई रोक । हैन भन्ने हजारौं बर्ष देखी चलन्चल्तिमा रहेको पौराणिक सम्पदाहरुमा गिद्दे नजर न लागए कै ठिक होला । राजनीतिको खोल ओढेर हिन्दु धर्म लाई सिध्याउने र क्रीस्चियन धर्म लाई भित्र्याउने काम नगर्नु होला ।’ उनको यो प्रतिक्रियासँगै धेरैले धार्मिक सहिष्णुतामाथि खलल पु¥याउने कार्य गर्न नहुने तर्क पेश गरेका छन् । नेकपा खोटाङका नेता देवबिक्रम राई प्रत्युत्तरमा लेख्छन् –‘देवीदेवताले कुनै प्राणीको रगत मात्र होइन, फलफूल, दूध, खिर पनि खाँदैन । खाएको कतै छ भने देखाउनुहोस् । नत्र यस्तो वाहियात तर्क नगर्नुहोस् सूर्य जी !’
यता, यस विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने –‘यो सबैको साझा सम्पती हो, मन्दिरभित्र पाठी काटेर बली दिने विषयलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको हो, बली दिन हुँदैन भन्ने विषयमा कुनै पनि निर्णय भएको छैन ।’ उनले थपे यो नगरको प्रमुख पर्यटकीय स्थल हो यसलाई अझ आकर्षणको केन्द्र बनाउन नगरपालिका लागिरहेको छ । उक्त स्थानमा सदिऔंदेखि चलिआएको परम्परालाई अन्त्य गर्नु हुँदैन भन्ने धारणा रहेको बताउँदै मेयर रिजालले यस्तो भ्रामक र धार्मिकआस्थामाथि खलल पुग्ने खालको अभिव्यक्ति दिनेप्रति आपत्ती रहेको बताए । कुनै एक धर्मावलम्वीले मन्दीरमा बली दिनुहुँदैन भन्दैमा चलिआएको धार्मिक परम्परालाई कसैले पनि तोड्न हुँदैन, मेरो कार्यकालमा बिग्रिएका कुराहरुलाई सुधार गरेर लैजान म लागिपरिरहेको छु । मन्दीरलाई असर नपर्नेगरी उपयुक्त स्थानको खोजी गरी व्यवस्थित धर्मशाला समेत उक्त स्थानमा निर्माण गर्ने रिजालको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता कुमारप्रसाद आचार्यले कालिका भगवती मन्दीरमा बलि दिने कार्य कुनै पनि हालतमा नरोकिने प्रतिक्रिया दिएका छन् । उनले भने –‘मुलुकका ४ सय ३१ वटा मठमन्दीरहरुमा बलि दिने गरिन्छ, कुनै पनि स्थानमा रोकिएको छैन, हाम्रो ठाउँमा पनि रोकिदैन बाहिर बाट आएका व्यक्तिले दिएको अभिव्यक्तिप्रति मेरो आपत्ती छ ।’ उनले थपे –‘सबैको आ–आफ्नो परम्परा हो, सूर्यजीको पनि आफ्नै परम्परा छ, राईको साकेलामा जाँड चढाउने, कुखुरा बली दिने परम्परालाई तोड्नुपर्छ भनेर हामीले भन्न मिल्दैन, देवालीमा बोका बलि दिईन्छ, सबै जातजातिको आफ्नै धर्मसंस्कार संस्कृति र परम्परा छ तर त्यो तोड्छु भन्नु धार्मिक आस्थामाथिको ठाडो हस्तक्षेप हो यो भनाई निष्कृष्ठ छ ।’ उक्त कालिका भगवती मन्दीरमा ३ सय ३१ वर्षपहिलादेखि पाठी बलि दिदै आईएको इतिहाँस छ । पुर्खाहरु विरञ्ची आचार्य र रणवीर राईले उक्त मन्दीरमा पाठी चढाउनुपर्छ भनेर सपनामा देखेपछि सोही समयदेखि हालसम्म पनि पाठी बलि दिदै आईरहेको बताईन्छ ।