मेरै कार्यकालमा गाउँपालिका समृद्ध बन्छ –अध्यक्ष निरौला (भिडियो सहित)

Halesi
0 Shares

खोटाङको सदरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिकको दूरीमा अवस्थित रावावेशी गाउँपालिका साविकको लामिडाँडा, खार्पा, कुभिण्डे, हौचुर, डुम्रेधारापानी र दुवेकोल गाविस मिलेर बनेको एक स्थानीय तह हो । कृषि उत्पादनको हिसाबले अत्यन्तै उर्वर भूमि रहेको रावावेशी गाउँपालिका लेकदेखि बेसीसम्मको भूगोलमा अवस्थित छ । कुभिण्डेको हरमटार केन्द्र रहेको रावावेशी गाउँपालिकाले विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । स्थानीय तह गठन भएको लगभग दुईवर्ष हुनै लागेको छ । आफू निर्वाचित भईसकेपछि गाउँपालिकाको समग्र विकासको लागि जनप्रतिनिधिको हिसाबले गरेका कामकाजबारे उक्त गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
१. अध्यक्षज्यू, यहाँहरु निर्वाचित भईसकेपछि विकासको गतिविधि के के गर्नुभयो ?
हामी निर्वाचित भईसकेपछि विगतदेखि हालसम्मको तुलना गर्नुपर्दा अनगिन्ति कामहरु गरिएको छ । बिजुलेबाट दुवेकोल हुँदै ऐसेलुखर्क गाउँपालिकासम्म जाने ग्रामीण सडकलाई १२ महिनाभरी सवारी साधन सञ्चालन हुनका लागि विशेष रुपमा लागि परेर व्यवस्थित बनाएका छौं । रावा खोलामा पक्कि पुल थिएन, ठेकेदारले त्यसै अलपत्र बनाएर छाडेको पुललाई म निर्वाचित भएपछि ठेकेदार खोजेर ल्याएर पक्कि पुल निर्माण सम्पन्न ग¥यौं । रावावेशीका प्रत्येक वडामा पुग्ने बाटो थिएन, अहिले पालिका र वडा कार्यालयसम्म र अन्य बस्तीहरुसम्म पुग्ने खालको सडक तयार गरेका छौं । स्थानीयवासीहरुलाई अहिले उक्त सडकहरु निर्माण भएपछि धेरै नै सहज भएको छ । विकासको हरेक खुड्किलोमध्ये सडक नै प्रमुख आधार भएकाले गर्दा हामीले प्राथमिकताका साथ सडकलाई व्यवस्थित गर्ने कार्य गरेका छौं ।

२. शिक्षाको क्षेत्रमा कस्ता कस्ता काम भएका छन् ?
हामी निर्वाचित भएपश्चात शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्न सफल भएका छौं । हाम्रो गाउँपालिकामा दुईवटा श्रोतकेन्द्रहरुमध्ये देउराली मावि डुम्रेधारापानी श्रोत केन्द्र र विश्वज्योति मावि लामिडाँडा श्रोत केन्द्र अन्तर्गत रहेका २८ वटा विद्यालयका प्रअ, विव्यास अध्यक्ष, श्रोतव्यक्ति, जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम गरेका छौं र एउटा श्रोतकेन्द्रमा भएका गतिविधिलाई अर्को श्रोतकेन्द्रले बुझ्ने तथा विद्यालयमा भएका समस्या के हुन्, के आवश्यकता हो, भौतिक संरचना छ छैन, प्रअ र विव्यास अध्यक्षबीचको मेलमिलाप कस्तो छ ? आदि कुराहरु अन्तरक्रियामार्फत बुझेर विद्यालयको अनुगमनलाई पनि चुस्त बनाउने काम गरेका छौं । त्यस्तै प्रत्येक विद्यालयका एक एक शिक्षकलाई कम्प्युटर तालिम प्रदान गरेका छौं । आगामी दिनमा सामान्य चिठ्ठीपत्र पठाउन पनि कम्प्युटरकै माध्यमद्धारा टाईपप्रिन्ट गर्ने, अभिलेखहरुलाई कम्प्युटराईज गर्ने तथा कम्प्युटर कक्षा सञ्चालन गर्ने योजनाका साथ उक्त तालिम प्रदान गरिएको हो । त्यस्तै सबै विद्यालयका एक एक शिक्षकहरुलाई विषयगत तालिम (गणीत, अंग्रेजी, विज्ञान) पनि प्रदान गरेका छौं । भौतिक श्रोत साधन नभएका विद्यालयहरुमा अनुगमन गरेर सिफारिसको आधारमा आवश्यकता अनुसारका भौतिक संरचना निर्माण गर्ने काम गरेका छौं । कुनै विद्यालयमा विद्यार्थी बढी र कहँी शिक्षकको कमी भएको ठाउँमा विद्यार्थी अनुपातलाई मध्यनजर गर्दै केही विद्यालयका दरवन्दी काटेर हुँदै नभएका विद्यालयहरुमा लैजाने काम पनि गरिएको हो । अहिले हाम्रो गाउँपालिकामा शिक्षाको क्षेत्रमा कुनै समस्या छैन ।

३. स्वास्थ्यको क्षेत्रमा के कस्ता गतिविधि गर्नुभएको छ ?
स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखनीय कार्य भएका छन् । पालिकाका ६ वटै वडामा २४ घण्टे अनमी समेतको व्यवस्था गरिएको छ । डुम्रेधारापानी र देवेकोलमा २४ घण्टे अनमी सेवा अन्तर्गत वर्थिङ सेन्टरलाई आवश्यक पर्ने उपकरणहरुको अभाव थियो उक्त स्थानको लागि उपकरण खरिद गर्ने काम गरिएको छ । औषधी व्यवस्थापन अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयले दिएको औषधीले मात्र अपुग भएपछि गाउँपालिका आफैले औषधी खरिद गर्ने गरेका छौं । यो वर्षमात्रै पनि १२ लाख रुपैयाको औषधी खरिद गरेर वितरण गरिएको छ भने स्वास्थ्यकर्मीरुलाई विभिन्न तालिम र गोष्ठिहरु पनि सञ्चालन गरिएको छ ।

४. कृषिको क्षेत्रमा गर्नुभएको गतिविधिहरु के के छन् ?
कृषि क्षेत्र अन्तर्गत ः किसानलाई निरन्तर प्रोत्साहन गर्ने तथा केही लगानीको वातावरण पनि मिलाईएको छ । केही गर्न खोजिरहेका कृषकहरुलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको छ । आधिकारिक रुपमा दर्ता भएका कृषि समूह तथा कृषकलाई ५० प्रतिशत लगानी अन्तर्गत ५० हजार रुपैयाको दरले कृषिमा लगानी गर्ने योजना छ । यो वर्ष गाउँपालिकाका १२ जना कृषकहरुले उक्त सुविधा पाउँदैहुनुहुन्छ । किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी र कृषिउपज वस्तुको हालै मात्र हामीले कृषि प्रदर्शनी गरेका छौं । गत माघ २४ र २५ गते उक्त प्रदर्शनी १ नम्बर वडामा सम्पन्न गरेका थियौं । उक्त क्रममा धेरै किसानहरु उत्साहित भएर कृषि समाग्री प्रदर्शन गर्नुभएको थियो । ३ सय ७४ जना किसानहरुले आफूले उत्पादन गरेको कृषि समाग्री ल्याएर प्रदर्शन गर्नुभयो । हामीले किसानहरुलाई पुरस्कार पनि दिएका छौं । हामीले प्रत्येक वडामा कृषिका विभिन्न पकेट क्षेत्र निर्माण गरेका छौं । त्यसका लागि प्रत्येक वडालाई दश दश लाख रुपैयाको दरले बजेट विनियोजन पनि गरेका छौं । हेल्भेटास र गाउँपालिकाको संयुक्त कार्यक्रम बनेको छ । हामीले बेमौसमी तरकारीको पकेट क्षेत्र निर्माण गरेका छौं । लिचि, अलैची, सुन्तला, कागती, कफीको पनि अलग अलग पकेट क्षेत्र बनाएका छौं । अगुवा किसानहरुलाई तालिमको व्यवस्थापन गर्ने र केहीलाई त तालिम पनि प्रदान गरिसकेका छौं । गतवर्ष कृषिमा कर्मचारी अभावले धेरै गतिविधि गर्न नसकेपनि यो वर्ष राम्रै काम भएका छन् ।

५. गाउँपालिकामा विद्युतको अवस्था कस्तो छ ?
रावावेशीका सबै वडामा केन्द्रीय लाईनबाट विद्युत पुगिसकेको छ । केही टोलहरुमा बत्ति पुग्न सकेका छैनन् भने केही वडाहरुमा अझै पनि काठका पोलहरु छन् । खार्पा, लामिडाँडा, कुभिण्डे, दुवेकोल, डुम्रेधारापानी लगायतका स्थानहरुमा अझै पनि काठेपोल छन् । ति सबै पोल हटाएर फलामेपोल लगाउने तयारीमा छौं त्यसका लागि विद्युतको केन्दबाट एक करोड बजेट प्राप्त भएको छ । स्टीमेट पनि तयार भएको छ यही वर्षभित्र काठेपोल हटाईसक्छौं । हाम्रै कार्यकालभित्र सबै टोलमा विद्युत बलिसक्छ ।

६. तपाईकै कार्यकालमा गाउँपालिकालाई समृद्ध बनाउने आधार के के तय गर्नुभएको छ ?
मुख्यगरी गाउँपालिकालाई समृद्ध बनाउन आवश्यक भौतिक पूर्वाधार अन्तर्गत सडकलाई प्राथमिकता दिएर काम अघि बढाएका छौं । एक त सबै वडामा सडक पुगिसकेको छ । १२ महिना सडक सञ्चालनका लागि ध्यान दिएका छौं । हाम्रै कार्यकालभरी गाउँपालिकाका सबै वडामा सडक व्यवस्थित बनिसक्छ । शिक्षामा सुधार, स्वास्थ्य, कृषि, पर्यटन, विद्युत विकासनै पालिकालाई समृद्ध बनाउने विकासका आधार हुन् । मुख्यगरी गाउँपालिकाको प्रमुख सडकलाई प्राथमिकता दिएर कालोपत्रे गर्ने कार्य हाम्रै कार्यकालभित्र सम्पन्न भईसक्नेछ । वडा कार्यालय र स्वास्थ्य संस्थाहरुका भवन निर्माण गर्ने र भएका संरचनालाई व्यवस्थित गर्ने, शिक्षा सुधारका गतिविधिहरुलाई व्यवस्थित गर्ने योजना छ । हामीले आउँदै गरेको एसईई परीक्षालाई लक्षित गरेर २,५ र ८ को पालिकास्तरीय प्रश्नपत्र निर्माण गर्ने योजनामा छौं । शैक्षिक क्यालेण्डर बनाउने, शिक्षा सुधारका गतिविधिलाई प्राथमिकता दिने योजनामा छौं । कुन विद्यालयमा कस्तो पठनपाठन हुन्छ कस्ता विद्यार्थी छन् भनेर पत्ता लगाउनका लागि पनि हामीले प्रश्नपत्र तयार गर्ने योजना बनाएका हौंं । सबै विद्यालयमा कम्प्युटर, इमेल इन्टरनेट, प्रिन्टर माग भएको छ नपुगेको ठाउँमा अर्को वर्ष व्यवस्थापन गर्ने योजना बनाएका छौं । सबै विकासका गतिविधिलाई प्राथमिकता दिएर तिव्रताका साथ काम गरिरहेका छौं चाँडैनै गाउँपालिका समृद्ध बन्नेछ ।

७. पर्यटनको क्षेत्रमा के कस्ता काम गर्नुभएको छ ?
रावावेशी गाउँपालिका हरेक हिसावले उर्वर भूमी हो । लेकवेसी मिलेको, रावाखोलामा अत्यन्तै उब्जाउ हुने भूगोल, कटहरेबेशी, हौंचुर बेशीमा उब्जाउ भूमी छ । भईरहेको संरचनालाई व्यवस्थि तगर्ने, पालिका क्षेत्रभित्रै दुईवटा हाईड्रोपावर बन्ने चरणमा छन् । यी हिसाबले गर्दा पर्यटनको क्षेत्रमा केही आकर्षण थपिन्छ । लामिडाँडा विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा छ । पर्यटकहरुलाई रावावेशीमा ल्याउनका लागि आकर्षक ठाउँहरु भएकाले भईरहेका संरचना तथा मठमन्दिरहरुलाई व्यवस्थि तगर्नका लागि र अन्य गाउँपालिका तथा अन्य ठाउँबाट आउने मानिसहरुलाई पनि रावावेशीको हरेक कुरा देखाउनका लागि गाउँपालिकाको तर्फबाट विविध योजना बनाएर लागि पर्ने योजना छ । धार्मिकस्थलहरु पनि भएकाले गर्दा पर्यटनको क्षेत्रमा प्रशस्त सम्भावना बोकेको ठाउँ हो ।

८. गाउँपालिकाले निर्माण गर्दै गरेको भवन कहिले पुरा होला ?
भवनको सन्दर्भमा निकै चर्चा पनि उठेको विषय हो । भवन केही कच्चा तथा फिनिसिङमा नराम्रो भएको आधारमा ठेकेदारको हामीले ध्यानाकर्षण पनि गराएका थियौं । भवनको भुई ढलानको काममा ठेकेदारबाट भएको कमजोरीलाई जनप्रतिनिधि, प्रहरी, कर्मचारीको तर्फबाट सच्याउन लगाईयो र म आफैले उक्त भवनको भुईढलान भत्काएको थिएँ । पछि ठेकेदारले पुनः दोहो¥याएर काम गरेका छन् । भवन बनेको छ धेरै राम्रो र गुणस्तरीय त होईन सामान्य काम चलाउ खालको भवन भएको छ । हामीलाई चाडै हस्तान्तरण हुँदैछ तर प्राविधिक र इन्जिनियरले भवन पास गरेपछि मात्र हामी उक्त भवन बुझ्नेछौं । लगभग अबको २० दिनभित्रमा हामी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनामा रहेका छौं ।

९. अन्त्यमा, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
हाम्रो यो रावावेशी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचमा कुनै समस्या छैन । कर्मचारीहरुले पनि सल्लाह गरेर मात्र काम गर्ने गर्नुहुन्छ, हामी पनि कर्मचारीलाई कुनै पनि काम दबावको भरमा गर्न लगाएका छैनौं । कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध अत्यन्तै सुमधुर छ । धन्यवाद । प्रस्तुती : डिएम चाम्लिङ राई

https://www.youtube.com/watch?v=P0tVp7aTfu8&feature=youtu.be

तपाईको प्रतिक्रिया