मनको ईच्छा पुरा गर्ने मनकामना मन्दिरलाइ शेयर गरौं

Halesi
0 Shares

मनकामना मन्दिरको निर्माण र मर्मत संभार विभिन्न कालखण्डमा शाहवंशका राजाहरुले गर्दै आएका थिए । मन्दिर भित्र पूजा हुने ठाउमा एउटा खाल्टोमा पाच शिला ठडिएका छन । जसमध्य दुई ठूलालाई मनकामना र भैरव तथा अन्य तीन सानालाई क्रमश गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ । पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौंको मैतीदेवी भगवतीसग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण रहेको छ । त्यसैले मनकामनाको नित्य पूजाको जिम्मा थापामगरको भए तापनि त्यहा वैशाख सुदी–बदी र मंसिर सुदी–बदीको गुठी पञ्चमी पर्वमा चाहि गुभाजूले पुरोहितको काम गर्दछन । मनकामना मन्दिरमा विभिन्न धार्मीक संस्कारको मिलन देखिन्छ । हिन्दू श्रेष्ठद्धारा देवीको सुसारेको काम गर्दछन । गुठी पञ्चमीको पर्वमा बौद्ध गुमाजूको तान्त्रिक विधिबाट पुजा गरिन्छ, भने मन्दिर पेटीमा अर्याल र मरहटठा थरका बाह्मणहरुले पुराणवाचनको काम गर्दछन ।

तीर्थाटन पर्यटकहरुको लागि गन्तब्य बनेको गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ । मन्दिरको पुन निर्माण ३ वर्ष लगाएर सकिएको छ भने मन्दिर पुरानै स्वरुप अर्थात प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको छ । गोरखाका राजा राम शाहकी रानीले करिब ४ सय वर्षअघि अर्थात् १७ औं शताब्दीमा यो मन्दिर बनाएको मानिन्छ । मनकामना मन्दिर भूकम्पअघि नै जीर्ण भइसकेको थियो । मन्दिरको छानामा सुनको जलप लगाएर सुनौलो बनाइएको छ । मन्दिरमा सिमेन्ट प्रयोग गरिएको छैन चुनासुर्कीको जोडाइ छ भने भूकम्प प्रतिरोधी बनाइएको छ । मन्दिरलाई भूकम्पले क्षती पु¥याए पछि २०७२ असारमा क्षमा पूजा गरेर पुनःनिर्माणको लागि भत्काइएको थियो । पुनःनिर्माण भएको मनकामनाको मन्दिरको छानामा तामाको पातामा १८ किलो सुनको जलव लगाएर मन्दिरलाई आकर्षक बनाइएको छ । नजिकदै गरेको दसैंमा तीर्थाटनका पर्यटकहरुले मन्दिरमा पूजा गर्न पाउने भएका छन ।

गण्डकी प्रदेशको गोरखा जिल्लाको दक्षिण सिमामा रहेको ऐतिहासिक मनकामना माई तीर्थाटन पर्यटकको गन्तब्य हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती भएकोले मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास छ । जनविश्वासका कारण तीर्थाटनका पर्यटकहरु मनकामनालाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं तीर्थाटनका पर्यटकहरु आफ्नो भाकल चढाउन मनकामना मन्दिर पुग्ने गर्दछन । मनकामना माईको सात दिदी बहिनी थिए । जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिम पट्टी देखिने छिम्केश्वरी महाभारत पर्वत तनहू जिल्लामा पर्दछ । साहिली बहिनी गोरखा कालिका माई हुन भने काहिली बहिनी मनकामना माई हुन । केबुल स्टेशनको पार्कबाट दक्षिण पट्टी चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी इच्छाकामना माईको मन्दिर छ । त्यपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माई हुन ।

मनकामना मन्दिरको बारेमा गोरखाका राजा राम शाहको नाम जोडिएको छ । आजभन्दा करिब तीन सय बर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउमा एउटा किसानले हलो जोत्दा ढुंगामा ठेस लागेछ र ढुंगाबाट दूध र रगत बग्न थालेछ । यो सुनेपछि लखन थापाले त्यहा तान्त्रिक पूजा गरे पछि रगत रोकिएको किबंदन्ति रहेको छ । यो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका वशंलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिएका थिए । मनकामना मन्दिरका मूल पुजारी सुरुदेखि हाल सम्म पनि रैथाने थापा मगर छन । हालको मगर पुजारी पनि लखन थापाको १७ औं पुस्ताका सन्तान हुन । राजा रामशाहका सेवक लखन थापा दैवी शक्तियुक्त थिए । लखन थापा स्वयं सिद्ध पुरुष मानिन्थे । त्यति मात्र होइन लखन थापा रानी लीलावतीका भक्तपनि थिए ।

लखन थापालाई राजा रामशाहको मृत्यु भएपछि रानी लीलावती सती जानुअघि राजाको मृत्युले विहवल भएको वेला सिद्ध लखन थापालाई सान्त्वना दिदै भनेकि थिइन, आफू सती गए पनि ७ महिनापछि कफेक गाउँमा शिलाका रुपमा मनकामना माईका रुपमा प्रकट हुने कुरा बताएकी थिइन । मनकामना मन्दिर वरपरको गाउँलाई त्यस समयमा कफेक भन्ने गरेको पाइन्छ । रानीले भने अनुसारको समयमै कफेक गाउँमा किसानले हलो जोत्दा शिला भेटिएको थियो । जुन शिलालाई अहिले मनकामना देवीको रुपमा पुजा गर्ने गरिन्छ ।

मनकामना मन्दिरको परिसर समुद्रको सहतबाट १ हजार ३१५ मिटर उचाईमा रहेको छ । वक्रेश्वर महादेव र वक्रेश्वरी माईको मन्दिर मनकामना मन्दिरको ३ किमी उत्तर दिशामा पर्दछ । मन्दिरमा वक्रेश्वर महादेव र वक्रेश्वरी माईका ठूला–ठूला शिला रहेका छन । यसै थलोमा बाबा गुरु गोरखनाथले लखन थापालाई वरदान दिएको किंवदन्ती रहेको छ । तीजको पर्वमा यहा विशेषमेला लाग्दछ । कोही बालबालिकाको समयमै वाक्य नफुटेको अवस्थामा वक्रेश्वरी माईको पूजा–अर्चना गरी प्रसाद ग्रहण गराएमा वाक्य फुटने जनधारणा रहेको पाइन्छ । वक्रेश्वर महादेवको उत्तरपट्टि डाडामा सिद्ध लखन थापाको गुफा छ । गुफाको भित्र दुई ठूला दुलाहरु छन । यहाबाट गोरखाको गोरखनाथको गुफामा पुगिने विश्वास पनि गरिन्छ । मनकामना पुग्ने तीर्थाटन पर्यटकहरुलाई खाना बस्नको कुनै असुविधा हुदैन । मन्दिर वरपर प्रशस्त होटलहरु रहेका छन ।

केवलकारको सुविधाले मनकामना जानेहरुको सख्या प्रत्येक बर्ष बृद्धि हुदै गएको छ । आजभोली चाहे तीर्थाटनको लागि होस अथवा शैक्षिक भ्रमणको लागि होस मेचि महाकालीका मानिसहरु मनकामना पुग्ने गरेका छन । मनकामनाको शितल वातावरण, मिठो खाना, आरामदायि बासले सबैलाई लोभ्याउछ । मनाकामना पुगेपछि त्यहा पाईने मनकामनाको चिनो स्वरुप काठका सामान, ठेकी, खुर्पेटो मादल, माना पाथी जस्ता घरेलु हस्तकलाले धेरै तीर्थाटनका पर्यटकहरुलाई ध्यान आकृष्ट गराउछ । त्यसैगरी वाँसबाट बनेका भित्ते स्वागत पर्दा, टाउकोमा लगाउने टोप र घरेलु प्रयोगमा आउने सर–सामानहरु समेत मनकामना पुग्ने पर्यटकहरुले लिन पाउछन । मनकामना परिसरबाट दक्षिणतर्फ छिम्केश्वरी तथा महाभारत पर्वत श्रृङखला, उत्तरतर्फ अन्नपूर्ण र मनास्लु, पूर्वतर्फ इच्छाकामनाको पहाड र पश्चिमतर्फ गोरखा जिल्लाको देउराली, मिरकोट थुम, दरौदी खोला किनारको उर्वर भूमी, ऐतिहासिक लिगलिगकोट आदि देख्न सकिन्छ ।

आजभोली नेपाली मात्र होइन भारतिय तीर्थाटनका पर्यटकहरु पनि मनकामना पुग्ने गर्दछन । पशुपतीनाथको दर्शन गर्न आउने अधिकाशं पर्यटकहरु मनकामना माईको दर्शन गरेर मात्र फर्कने गरेका छन । मनकामना परिसर प्राकृतिक भ्यु–टावर पनि हो । यहाबाट महाभारत पर्वतका डाडाकाडाहरु र उत्तर तिर हिमाली श्रृखला समेत देख्न सकिन्छ । भारतिय तीर्थाटनका पर्यटकहरु यो पहाडी दृष्य देख्न पाउदा रमाइलो मान्दछन । मनकामना मन्दिरमा नित्य पूजा विहान ७ वजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरु को लागि वलि र पूजा शुरु हुन्छ । मनकामनामा विशेष गरी अष्टमीका दिन बली चढाईन्छ । के चढाउने रु घण्ट, परेवा, बोका, फुल रु सबै सामान पनि मनकामनाको बजार क्षेत्रमा किन्न पाइन्छ ।

मनकामना केबलकार वि।सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । यो केबलकार नेपालको पहिलो केबलकार हो । नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरु सञ्चालनमा रहेका थिए । तर ती सबै सञ्चालनमा छैनन् । केबलकारको सुबिधाले आजभोली तीर्थाटनका पर्यटकहरु पृथ्थी राजमार्गको कुरिनटार चेरेसबाट मनकामना मन्दिर पुग्ने गर्दछन् । मनकामना दर्शन प्रा।लि।द्वारा सञ्चालित यो केबुलकारको ३।०२ किलोमिटर दुरी रहेको छ । केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको हो । केबलकारको कुल २० वटा टावर रहेका छन । केबलकारको तल्लो स्टेशन उचाई २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाई १ हजार ३०२ मिटर रहेको छ । केबलकारको १० मिनेटको यात्रामा मनकामना पुग्न सकिन्छ । केबलकारको गति ०।६ मिटर प्रति सेकेन्ड रहेको छ भने ३४ वटा डब्बा रहेका छन । प्रत्येक डब्बा ६ जना यात्रा गर्न सकिन्छ । केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ ।

मनकामना जादा आफ्नो भ्रमणको समय बढाउन सके गोरखामा तीर्थाटन गर्ने र ऐतिहासिक स्थलको अध्यन गर्ने धेरै ठाउहरु छन । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासन देखि लिएर शाहवंशको सुरुवात भएको गोरखा नेपालको भूगोलमा तिब्बती सिमा देखि तराइको जिल्लासंग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबास देखि माथिका दुर्गम भूगोल जसलार्ई हिमाल पारीको गोरखा भन्ने गरिन्छ । जहा मनास्लु, हिमालचुली जस्ता हिमचुचुराहरु को अवलोकन गर्न सकिन्छ । गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदाको बारेमा अध्यन गर्न सकिन्छ । गोरखकाली मन्दिरको समेत तीर्थाटन गर्न सकिन्छ । गोरखामा कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल र पोखरीहरु पनि रहेका छन ।

२०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्पले बिनास गरेको गोरखा क्रमश पुन निर्माण भैरहेका छन । गोरखामा गुरुङ समुदायका ग्रामिणबस्ती वारपाक, लाप्राक जस्ता रमणिय ठाउँहरु पर्यटकको लागि गन्तब्य भएको छ । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको विस्तारले गर्दा गोरखा आजभोली आन्तरिक एंव वाह्य पर्यटक भ्रमणको लागि जाने ठाउ हो । राजसस्थाको विलय पछि अहिले गोरखाको ऐतिहासिक स्थल र धार्मीकस्थल पर्यटकियस्थल बनेका छन । गोरखा पुग्ने पर्यटकहरुले शाहवंशका पालाका दरवार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन । पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाको आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

गोरखा बजारबाट करीव ४० मिनेटको पैदल यात्रामा अथवा बसबाट पनि गोरखा दरवार पुग्न सकिन्छ । यो दरवार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ । गोरखा वजारको मध्य भागमा रहेको अर्को दरवार पनि शाह वंशीय राजाहरुको इतिहाससग जोडिएको छ । यस दरवारले मल्लकालिन वस्तुकलाको नमुनाका प्रस्तुत गरेको छ । यस दरवारको झ्याल ढोका र टुडालहरुमा पौराणिक काष्ठ कलाको नमुना देख्न पाइन्छ । गोरखा दरबारबाट करीव १ कि।मी। उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट विहानीको सूर्योदयको रमणीय दृष्य हेर्न सकिन्छ । गोरखा दरवार निर्माण हुनु अघि राम शाहको दरवार यसै स्थानमा रहेको मानिन्छ । गोरखा वजारमा एउटा चौतारो छ । यस चौतारोलाई राम शाहले न्यायदीने चौतारोको रुपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाई छ ।

प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमाल देखि पहाड, सम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ गोरखा । ऐतिहासिक कोट, शक्तिपिठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरवार र कोटमौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन । गोरखाको लिगलिगकोट ऐतिहासिक स्थल हो । गोरखाको ऐतिहासिक लिगलिगकोट अहिले पर्यटकियस्थल भएको छ । गोरखामा लिगलिगकोट वाहेक अन्य सानाठूला गरी ३६ वटा कोटहरु छन । सवै भन्दा वढी अग्लो कोट अजिरकोट हंशपुरमा छ । जसको उचाई ६ हजार ५०० मिटर रहेको छ । अन्य कोटहरु मा उपल्लोकोट,जुन हनुमान भन्ज्याङ को पूर्वपट्टी उकालो चढेपछि भेटिने कोट हो । जुन कोटमा वज्र भैरवको मूर्ती छ । गोरखा जिल्लाका अन्य रमणिय पहाडको श्रृखलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङ्कोट जस्ता ऐतिहासिक कोटहरु रहेका छन । साभार

तपाईको प्रतिक्रिया