हामी बाँकी रहेको समयअवधिभित्र गाउँपालिकालाई समृद्धिको बाटोमा लैजान्छौ –अध्यक्ष राई

Halesi
0 Shares

खोटाङको जन्तेढुंगा गाउँपालिका सदरमुकाम दिक्तेलबाट सुदुर दक्षिणी क्षेत्रमा ६ वटा वडा बनेर स्थापना भएको गाउँपालिका हो । साविकको चिसापानी, डम्बर्खुशिवालय, बोपुङ, काउले, देविस्थान र दिप्लुङ गाविसलाई मिलाएर यस गाउँपालिकाको स्थापना गरिएको हो । गाउँपालिकाको समृद्धिको लागि हालसम्म गरिएका र आगामी दिनहरुमा के कसरी काम गर्ने योजना छ ? यही विषयमा केन्द्रीत रहेर जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष श्री शंकरबहादुर राईसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. अध्यक्षज्यू, तपाईहरु जननिर्वाचित भईसकेपश्चात के कस्ता कामहरु गर्नुभएको छ ?
हामी निर्वाचित भएको लगभग दुईवर्ष पुग्न लागेको छ । यो अवधिमा धेरै उपलब्धीमूलक काम गर्न सफल भएका छौं तर प्रचारप्रसारको अभावका कारण हाम्रो गतिविधिहरु ओझेलमा परेको मात्र हो । हामी प्रत्येक दिन योजना अनुगमन, दैनिक कामकाजमा व्यस्त छौं । गाउँपालिकाको समृद्धिको लागि हामी निर्वाचित जनप्रतिनिधि र कर्मचारी रातदिन खटिरहेका छौं । हामीले सडक, शिक्षा, विद्युत, स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाका नागरिकहरुलाई परिवर्तनको आभाष गराउनका लागि खटिरहेका छौं भने चाँडैनै हामा्रे पालिकाको केन्द्र रहेको चिसापानी बजारमा विद्युत बाल्ने तरखरमा छौं । टेलिफोनको अत्यन्तै समस्या छ, त्यसलाई पनि नियमित सुचारुको व्यवस्थापनमा लागेका छौं भने गाउँपालिकाका सबै वडामा हाम्रै कार्यकालभरी विद्युत बालिसक्ने अभियानमा पनि छौं । सडक अन्तर्गत मुख्य सडकहरुलाई गाउँपालिकाले गौरवको योजना बनाएर काम गरिरहेका छौं भने, भौतिक पूर्वाधार अन्तर्गत पालिकाले आफ्नै भवन पनि बनाउने योजना छ । हामी चिर्वाचित भईसकेपछि चिसापानी बजारलाई केही व्यवस्थित गर्न सकेका छौं भने हामी बाँकी रहेको समयअवधिभित्र गाउँपालिकालाई समृद्धिको बाटोमा लैजान्छौं । हामी निर्वाचित भईसकेपछि विकासका धेरै काम भएका छन् ।

२. तपाईहरुको कार्यकालमा गाउँपालिकाको समृद्धीको लागि के कस्ता कार्य गर्ने सोचमा हुनुहुन्छ ?
हाम्रो कार्यकालमा गाउँपालिकालाई समृद्धितर्फ लैजानको लागि प्रत्येक वडा र पालिकाको कार्यालयसम्म जोड्ने सडक निर्माण गरिसकेका छौं भने छिमेकी जिल्ला र अन्तर गाउँपालिका सम्म जोड्ने सडकलाई प्राथमिकता दिएका छौं । विकासका सबै प्रक्रियामा छिर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन कार्यविधि नबुझेकै कारण विगतको वर्षहरुमा काम गर्न असहज भएको र सोचेअनुसारको काम गर्न नसकेकै हो तर आगामी वर्षहरुमा गाउँपालिकाको समृद्ध आकार आउनेछ भन्ने विश्वास लिएको छु । हाम्रो यस गाउँपालिकाले शिक्षा, कृषि, सञ्चार, विद्युत, सडकलाई मुख्य प्राथमिकता दिएर अघि बढिरहेका छौं । धेरै योजनाहरु उपभोक्ता समिति मार्फत गर्दा सोचेअनुसारको विकास हुन नसकेकै हो तर आगामी दिनमा त्यसलाई पनि सच्याउँदै अघि बढ्ने योजना रहेको छ । विशेषत गाउँपालिकालाई समृद्धितर्फ लैजान कृषि उत्पादनलाई जोड दिदै अघि बढिरहेका छौं भने प्रत्येक वडामा कृषि पकेटक्षेत्र घोषणा गरेर किसानलाई सम्मान गर्दै उत्पादनमा आत्मनिर्भर बनाउनेछौं । हाम्रै कार्यकालभरीमा गाउँपालिका समृद्ध बन्न सकेन भने पनि अर्को कार्यकालमा आउने जनप्रतिनिधिलाई सोही काममा निरन्तरता दिने वातावरण बनाउनेछौं । सबै सडकहरु हिउँद र वर्षा सञ्चालनको वातावरण बनाउँदै क्रमिक रुपमा सडक कालोपत्रे, ग्राभेलिङ गर्ने काम गर्नेछौं । सामान्य देखि जटिल प्रकारका विरामीलाई उपचारका लागि बाहिर जाने वाध्यताको अन्त्य गर्नेछौं । प्रत्येक वडाका प्रत्येक कुनाकुनामा बत्ति बलिसकेको हुनेछ भने, सञ्चारको क्षेत्रमा इमेल इन्टरनेट, टेलिफोन निर्वाध रुपमा सञ्चालन हुने वातावरण तय गर्नेछौं भने पर्यटन र शिक्षाको क्षेत्रमा पनि ठूलै परिवर्तन हुनेछ । यिनै कामहरु गरेर गाउँपालिकालाई समृद्ध बनाउने सपना हामीले देखेका छौं ।

३. शिक्षा सुधारका लागि के कस्ता गतिविधि गर्नुभएको छ ?
विद्यालय सुधारका लागि गाउँपालिकाले विभिन्न शैक्षिक नीति ल्याएका छौं । केही बजेटको व्यवस्थापन पनि गरिएको छ । गुणस्तरीय शिक्षा सुधारका लागि गाउँपालिकाले शिक्षक र अभिभावकबीच समन्वय गर्दै समग्र शैक्षिक सुधारका गतिविधि गरिरहेका छौं । प्रत्येक विद्यालयमा इ–हाजीरी सहित सिसि क्यामेराको व्यवस्थापन गर्ने योजनामा छौं तर तत्कालका लागि विद्युतको समस्याका कारण त्यो गर्न सकिएको छैन तर पनि शिक्षक विद्यार्थीको नियमित अनुगमनको लागि हामीले इहाजीरी र सिसि क्यामेरा जडान गर्नु अत्यन्तै आवश्यकता छ । त्यस्तै गुणस्तरीय शिक्षाको लागि शिक्षकहरु, अभिभावक, विव्यास समितिका पदाधिकारीहरुलाई अन्तरक्रिया, शिक्षकहरुलाई विषयगत तालिम सहितको व्यवस्थापन गर्दै प्रयोगात्मक शिक्षा, कम्प्युटर शिक्षालाई जोड दिईनेछ भने भौतिक संरचना अन्तर्गत हुँदै नभएका विद्यालयहरुलाई भवन निर्माण, शौचालय निर्माण, खानेपानीको व्यवस्थापन गर्ने कामहरु गरिनेछ ।

४. पर्यटनको क्षेत्रमा के गर्नुभएको छ ?
पर्यटनको हिसाबले हेर्दा जन्तेढुंगामा आन्तरिक र वाह्य पर्यटनलाई भित्र्याउने उद्देश्यले निकट भविष्यमानै महोत्सव गर्ने योजना बनाएका छौं । हालको जन्तेढुंगा गाउँपालिका वडा नं. ६ मा अवस्थित उक्त जन्तेढुंगामा महोत्सव गर्न गाउँपालिकाले यस वर्ष १७ लाख रुपैया बजेटको व्यवस्थापन गरेको छ । उक्त जन्तेढुंगाले छुट्टै ऐतिहाँसिक मान्यता बोकेको इतिहाँस पनि छ । गाउँपालिकाले प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि उक्तस्थानको व्यवस्थापन, संरक्षण गर्नेछ भने अन्य पर्यटकीयस्थलहरु हुमापोखरी, छोङ्खाचण्डीथान लगायका मठमन्दीर र धार्मिक स्थानहरुको स्तरोन्नती, संरक्षण र व्यवस्थित बनाउने चरणमा लागेका छौं । गाउँपालिकाको समृद्धिको लागि पनि पर्यटनको क्षेत्रमा काम गर्न अत्यन्तै जरुरी पनि हो । जन्तेढुंगा गाउँपालिका अवलोकन गर्नका लागि अन्य छिमेकी गाउँपालिका तथा तराईका जिल्लाबाट पर्यटन भित्र्याउने खालका गतिविधिहरु गर्ने योजनामा छौं ।

४. कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वयकारी भूमिकामा रहेर काम गरिरहेका छौं । धेरैभन्दा धेरै जनताको मन जित्ने उद्देश्य सहित कामलाई सहजता दिईएको छ । गाउँपालिकाको समग्र विकासका लागि कर्मचारीहरुको पनि ठूलो सहयोग रहेको छ । उहाँहरुको सहयोगप्रति हामी जनप्रतिनिधि आभारी छौं । अन्य गाउँपालिका तथा नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको दुरी बढ्दा स्थानीयले विकासको अनुभुत गर्न नसकेको, दुःख पाएको कुराहरु सुन्ने गरेका छौं तर हाम्रो पालिकामा त्यस्तो कुनै पनि समस्या नरेको र हामीबीच सहकार्य र सल्लाह बमोजिमनै काम हुँदै गरिदै आएको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । धन्यवाद । (प्रस्तुती : डिएम चाम्लिङ र हरिवोल आचार्य

तपाईको प्रतिक्रिया