दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरणको प्रयास

Halesi
0 Shares

बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरण गर्ने प्रयास भएको बिबिसिले जनाएको छ । राजधानी ढाकाबाट जहाज उडेको आधा घण्टामा नै ककपिटभित्र बंदुकधारी पसेका थिए । अहिले एयरपोर्ट प्रशासनले सबै उडान रोकेको छ ।

त्यसको केही समयपछि चिटगांवको के शाह अमानत इन्टरनेशनल एयरपोर्टमा जहाजलाई अवतरण गराईएको थियो । विमानमा सवार १४२ यात्रीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको बताईएको छ । विमानभित्र चालक दलका सदस्य र बन्दुकधारी रहेका छन् ।

बंगलादेशी सुरक्षा बलका सदस्यहरुले विमानलाई चारै तिरबाट घेरिसकेका छन् । बंदुकधारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसीनासंग कुराकानी गर्न खोजेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए । उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ ।” तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन । विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन ।

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्णरूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ । “अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आइएसपिआरका अधिकारीले बताए ।
विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिईएको बताइएको छ ।

तपाईको प्रतिक्रिया