सोमबार महाशिवरात्री: पशुपति लगायत नेपालका यी १० शिव धामको दर्शन गरे पुन्य कमाइने

Halesi
0 Shares

काठमाडौ । हिन्दु धर्मालम्बीहरुको महान पर्वको रुपमा रहेको महाशिवरात्री पर्सी अर्थात यही २० गते सोमबार परेको छ । हिन्दू नेपालीले महान् उत्सवका रूपमा मनाउने महाशिवरात्रि यो वर्ष सोमबार पर्न गएको छ । सामान्यतया, नेपालीको यात्रामा कुनै–कुनै धार्मिक गन्तव्य जोडिन्छ । यो हप्ता पनि सरकारी बिदा हुने भएकाले शिवरात्रिमा नजिकैको गन्तव्य जाने कि रु आज हामी नेपालमा रहेका त्यस्ता केही मन्दिरहरुका बारेमा चर्चा गर्न गइरहेका छौं । आउँनुहोस महाशिवरात्रीका दिन कुन मन्दीरको दर्शण गर्दा तपाईको मनोकमना पुरा हुन्छ ।

पशुपतिनाथः पशुपतिनाथ हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक गन्तव्य हो । काठमाडौं बागमती किनारमा अवस्थित मन्दिर विश्वकै ठूलो शिव मन्दिर पनि मानिन्छ । शिवरात्रिका दिन यहाँ नेपाली र भारतीय गरी १० लाखभन्दा बढी भक्तजन पुग्ने गर्छन् । शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा भिक्षाटनबाट जीवन निर्वाह गर्ने र प्राकृतिक वातावरणमा बाँच्न चाहने साधु–सन्तहरूको चहलपहल बढी नै हुन्छ ।

डोलेश्वर महादेवः भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिर शिवरात्रिको लागि प्रमुख गन्तव्य हो । भक्तपुरको जगातीबाट दक्षिणतर्फ लागेर उक्त मन्दिर पुग्न सकिन्छ । विज्ञ तथा धार्मिक जानकारका अनुसार यसलाई भारतको उत्तराखण्डमा रहेको केदारनाथको शिरको रूपमा मानिन्छ । हिन्दूका लागि पवित्र स्थान मानिने यस मन्दिरमा पनि शिवरात्रिमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ।

सन्तानेश्वर महादेवः ललितपुरको झरुवारासीमा सन्तानेश्वर महादेव मन्दिर छ । सानो पहाडको थुम्कोमा अवस्थित मन्दिरमा शिवरात्रिका दिन मेला लाग्छ । महादेवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा यस स्थानमा वक्षस्थल पतन भएको किंवदन्ती छ । सोही स्थानमा सन्तानेश्वर महादेव मन्दिर स्थापना गरिएको बताइन्छ । सन्तान नभएका दम्पतीले उक्त मन्दिरमा पूजा गर्दा सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

गुप्तेश्वर महादेव स् पोखराको पातलेछाँगोसँगै रहेको गुप्तेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिका दिन धार्मिक पर्यटकको घुइँचो लाग्छ । जमिनभन्दा तल गुफामा लुकेर रहेकाले नै यहाँ रहेको महादेवलाई गुप्तेश्वर महादेव भनिएको किंवदन्ती छ । यो ठाउँ पोखरा–स्याङ्जा राजमार्गमा पातलेछाँगोको दक्षिणतर्फ पर्छ ।

गलेश्वर महादेवः म्याग्दीको गलेश्वरमा रहेको गलेश्वर महादेवको मन्दिर पनि शिवरात्रिमा बढी भक्तजन पुग्ने गन्तव्यमा पर्छ । कलात्मक दुईतले महादेव मन्दिर पुग्ने यात्रु यहाँको धार्मिक र प्राकृतिक सुन्दरतामा नरमाई बस्न सक्दैनन् । मन्दिर म्याग्दीको बेनीबाट करिब तीन किलोमिटर पर कालीगण्डकी नदी तटमा अवस्थित छ । उक्त स्थानमा सतीदेवीको गला अर्थात् घाँटी पतन भएको विश्वास गरिन्छ ।

धनेश्वर महादेवः काभ्रेको बनेपाबाट करिब १ किलोमिटर दक्षिणतर्फ उचाइमा रहेको धनेश्वर महादेव मन्दिरमा शिवरात्रिका दिन ठूलो भिड लाग्छ । नामअनुसार नै धनेश्वर महादेवको दर्शन गरेर पूजाआजा गर्दा धनसम्पत्ति बढ्ने विश्वास गरिन्छ । यस स्थानबाट बनेपा र धुलिखेल सहरको सुन्दर दृश्यसमेत देख्न सकिन्छ ।

गोकर्णेश्वर महादेवः शिवभक्तका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णेश्वर महादेव मन्दिर अर्को महत्वपूर्ण गन्तव्य हो । गोकर्णेश्वरको बागमती किनारमा यो मन्दिर अवस्थित छ । तीनतले मन्दिर आकर्षक बुट्टा कुँदिएका इँटाबाट बनेको छ । झ्याल–ढोकासहित मन्दिर परिसरमा ढुंगामा कुँदिएका मूर्तिले त्यस क्षेत्रलाई आकर्षक बनाएको छ । शिवरात्रिका दिन यहाँ ठूलो मेला लाग्छ ।

कैलाश महादेवः विश्वकै अग्लो शिवमूर्ति दाबी गरिएको कैलाशनाथ महादेवको मूर्ति भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगामा अवस्थित छ । यसलाई विश्वकै चौधौँ अग्लो मूर्तिसमेत दाबी गरिन्छ । धार्मिक महत्व राख्ने यो स्थान मूर्ति बनेसँगै पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

भीमेश्वर महादेवः दोलखाको चरिकोटबाट करिब पाँच किलोमिटर टाढा रहेको भीमेश्वर महादेव मन्दिरमा शिवरात्रिका दिन विशेष घुइँचो लाग्छ । एउटै मूर्तिलाई शिव, विष्णु र भीमसेनका रूपमा पुज्नु यस मन्दिरको विशेषता हो । दोलखामा कालीञ्चोक भगवती र भीमेश्वर महादेवको मन्दिर महत्वपूर्ण धार्मिक गन्तव्य हुन् ।

किरातेश्वर महादेवः पशुपति क्षेत्रमै शिवरात्रिका दिन विशेष महत्व राख्ने किराँतेश्वर महादेवको मन्दिर छ । गौरीघाटबाट केही माथि मृगस्थली वनमा अवस्थित मन्दिरमा भिड लाग्ने गर्छ । महादेवले किराँत रूप धारण गरी लुकेर बसेकाले पार्वतीले शिवलिंग बनाएर यस स्थानमा महादेवको पूजा–अर्चना गरेको विश्वास गरिन्छ ।जनबोलीबाट साभार

तपाईको प्रतिक्रिया