‘बाक्सिला गोल्डकप’को दशौँ संस्करण चैत तेस्रो साताबाट शुरु हुने, सहभागी हुन कम्तिमा १२ जना खेलाडी आफ्नै जिल्लाको हुनुपर्ने

Halesi
0 Shares

खोटाङ, १९ फागुन ः जिल्लाकै सर्वाधिक ठूलो धनराशीको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको दशौँ संस्करण आगामी चैत तेस्रो साताबाट सञ्चालन हुने भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारस्थित पृथ्वी माविको खेलमैदानमा चैत २३ गतेबाट दशौँ संस्करणको प्रतियोगिता सञ्चालन हुने भएको हो । बाक्सिला फुटबल क्लव बाक्सिलाको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद रु. एक लाख ५५ हजार ५१०, गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका संयोजक एवम् क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो । प्रतियोगिताको उपविजेतालाई नगद रु. ७५ हजार १०, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिस्ट दुई टोलीलाई नगद रु. १५÷१५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आईतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतियोगिता अवधिभरको खेलमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, अनुशासित टोली, उत्कृष्ट मिडफिल्डर, उत्कृट डिफेन्डर र उत्कृष्ट स्टाइकरलाई जनही नगद रु. पाँच÷पाँच हजारको साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीले भोलि (सोमबार)बाटै आफ्नो टोली दर्ता गर्न सक्ने क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक इलाभेन साईजको प्रतियोगिता सञ्चालन हुन लागेको दशौँ संस्करणको खेलमा कम्तिमा १२ जना खेलाडी आफ्नै जिल्लाको हुनुपर्ने क्लवका पूर्व अध्यक्ष समिर राईले बताउनुभयो । “यसअघिको गोल्डकपमा जिल्लाका क्लवको नाममा बाहिरबाट ल्याइएको खेलाडीलाई स्थान दिँदा जिल्लाका खेलाडीले अवसर नपाएको महशुस ग¥यौं ।” उहाँले भन्नुभयो, “हामीले जिल्लाकै खेलाडीलाई अवसर दिनुका साथै फुटबल खेलको विकास गर्न यस्तो निर्णय गरेका हौँ ।”

गोल्डकपमा देशभरका जुनसुकै जिल्लाका क्लवलाई सहभागी हुन दिने तर, कम्तिमा १२ जना खेलाडी आफ्नै जिल्लाको हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाको हकमा जिल्ला खेलकुद विकास समिति तथा स्थानीय तहले गरेको सिफारिसको आधारमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । गोल्डकपको उद्घाटन कार्यक्रममा जिल्लाका एक जना पत्रकारलाई ‘खेल पत्रकारिता’ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०६१ सालदेखि सञ्चालन हुँदै आएको नवौँ संस्करणको गोल्डकपमा राष्ट्रिय समाचार समितिका खोटाङ सम्वाददाता पत्रकार केदार मगर पुरस्कृत हुनुभएको थियो ।

प्रतियोगिताका लागि विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले जनाएको छ । चन्दाको भरमा गोल्डकप सञ्चालन गर्दै आएको आयोजक बाक्सिला फुटबल क्लवले दुई वर्षको अन्तरपछि पुनः यस वर्ष दशौँ संस्करण सञ्चालन गर्न लागेको हो । २०७३ साल वैशाखमा सञ्चालन भएको नवौँ संस्करणको गोल्डकपको उपाधि खोटाङको बुइपा ११ बुइपाले उचालेको थियो । १७ टोलीले सहभागिता जनाएको उक्त गोल्डकपको फाइनल खेलमा शान्तिनगर फुटबल क्लव इटहरीलाई ट्राइबेकरमा हराउँदै बुइपाले उपाधि उचालेको हो ।

तपाईको प्रतिक्रिया