खोटाङ। त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो ।मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ ।
उदयपुर र खोटाङको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशी नदीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको हो ।पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, इलाम, रौतहट, पोखरालगायत छिमेकी देश भारतका दर्शनार्थी गाडी रिजर्भ गरेर आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिकरूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेका हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताउनुभयो । हप्तादिनसम्म लाग्ने शिवरात्रि मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीजजस्ता पर्वमा ठूलो मेला लाग्ने गर्दछ । हलेसी आवत–जावत गर्न यातायातको सुविधा तथा बास बस्नका लागि होटल पर्याप्त मात्रामा खुलेपछि अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।