हलेसी साईनो स्टारको फाईनल भोलि, भोट बटुल्न प्रतिस्पर्धीको दौडधुप

Halesi
0 Shares

खोटाङ, २४ फागुन ः खोटाङमा आम सँगीतप्रेमीको ध्यान यतिखेर ‘हलेसी साईनो स्टार’को फाईनल प्रतिस्पर्धातर्फ मोडिएको छ । गत पुषदेखि जारी गायन प्रतियोगिताको फाईनल हुने घडी नजिकिँदै जाँदा जिल्लाबासीको मनमा खुल्दुली र उत्साह एकैसाथ बढेको हो । शनिबार दिक्तेलबजारको सरस्वती माविको प्राङ्गणमा हुने प्रतियोगिताको फाईनलमा भर्सस्टाईल गायक राजेश पायल राई लगायतका चर्चित गायक÷गायिकाको उपस्थिती रहने भएपछि गीतसँगीतप्रेमी झनै हौसिएका छन् । फाईनलमा राई ईज किङको उपाधि प्राप्त राईसँगै प्राज्ञ सँगीतकार शान्तिराम राई, सँगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई तथा गायक रेवत राई लगायत स्टेज चढ्नेछन् ।

जिल्लाको दश स्थानीय तहको ११ स्थानमा अडिसन गरि ११८ जना प्रतियोगीबाट फाईनलमा ११ जना प्रतिभा छानिएका छन् । एक से एक लाग्ने ११ प्रतिभामध्ये को स्टार बन्ला भन्ने कौतुहल्ताले सबैलाई गाँजेको छ ।
यता, दर्शक तथा गीतसँगीतप्रेमीमा अड्कलबाजी चलिरहेको छ भने प्रतियोगीलाई भोट बटुल्ने हतारो छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा प्रतियोगीहरु स्वयम् र प्रतियोगीका शुभचिन्तकहरु भोट बटुल्नमा दौडधुप गरिरहेको भेटिन्छन् । भोटबाट ४० र निर्णायकबाट ६० अङ्क निर्धारण गरी प्रतिभा छनौट गरिने व्यवस्था गरिएपछि भोटको मात्रा बढाउन प्रतियोगीहरु विभिन्न स्थान चाहारिरहेका छन् । यता, आयोजकलाई भने मञ्च व्यवस्थापन, अतिथि सत्कार तथा व्यवस्थापनमा भ्याइनभ्याइ भएको छ ।

कार्यक्रमको प्रचारप्रसारदेखि स्टेज निर्माणमा रातारात खटिरहेको आयोजक साईनो कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रमोद श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार निर्णायक तथा विशेष प्रस्तुति दिने कलाकार टोली काठमाडौंबाट हिँडिसकेका छन् । यस्तै, कार्यक्रमलाई भब्य बनाउन राम्रो साउण्ड सिस्टमको व्यवस्था गर्नमा जुटेको प्राविधिक सञ्जिप राईले सुनाउनुभयो । कार्यक्रमलाई जिल्लाको इतिहासमा हालसम्मकै उत्कृष्ट र भब्य बनाउने गरिएको छ । जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष सँगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष सँगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष सँगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।

फाईनलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राई, खार्मीकै बिना राई, सोही नगरपालिका १३ नुनथलाका युवराज राई, वडा नम्बर १४ बुइपाका प्रनिशा विश्वकर्मा र वडा नम्बर १५ विजयखर्कका पुष्कल राईले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, दिपु्रुङ चुइचुम्मा गाउँपालिका छोरम्बुका संग्राम राई, बराहपोखरी गाउँपालिका फाक्टाङकी रोजिना राई, बराहपोखरीकै सोम मगर, रावा बेँसी गाउँपालिका कुभिण्डेका स्काइ भरत मगर र ओखलढुङ्गाका पर्शु गजमेर फाईनलका लागि छानिएका छन् ।

तपाईको प्रतिक्रिया