‘हलेसी साईनो स्टार–२०७५’ को उपाधि पुस्कल राईलाई

Halesi
0 Shares

‘हलेसी साईनो स्टार–२०७५’ को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका पुस्कल राईले चुम्नुभएको छ । गएराति दिक्तेलस्थित सरस्वती माविको प्राङ्गणमा सम्पन्न ग्राण्ड फिनालेमा आफ्ना ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै राईले प्रथम उपाधि चुम्नुभएको हो । निर्णायकको ६० प्रतिशत र ४० प्रतिशत भोटिङको आधारमा गरिएको छनोटमा ओखलढुङ्गाका पर्शुराम गजमेर दोस्रो र बराहपोखरी गाउँपालिकाका सोम मगर तेस्रो हुनुभएको छ । प्रथम हलेसी साईनो स्टार बन्नुभएको राईले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र तथा एउटा गीत रेकर्डिङ र एक वर्ष सँगीत कक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको छ ।

दोस्रो हुनुभएका गजमेरले नगद ३३ हजार ३३३ का साथमा ट्रफी, प्रमाणपत्र तथा एक वर्ष सँगीत कक्षा अध्ययन गर्ने अवसर पाउनुभएको छ । प्रतियोगितामा तेस्रो हुनुहुने प्रतिभाले नगद १५ हजार ५५५ रुपैयाँका साथमा एक वर्ष सँगीत कक्षा अध्ययन गर्ने अवसरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । विजेतालाई प्रतिनिनिधिसभा सदस्य विशाल भट्टराई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई, दोस्रो पुरस्कारको प्रायोजक शरद ज्वेलर्सका प्रोप्राईटर गीता शंकरकी छोरी सबु शंकरले लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । जिल्लाका दश वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएको पालिकास्तरीय अडिसनबाट छानिएका ११८ प्रतियोगीमध्ये उत्कृष्ट ११ प्रतियोगीबाट हलेसी साईनो स्टारको टुङ्गो लगाइएको हो ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र सम्बद्र्धन गर्दै गीत सँगीतको व्यवसायिक विकास गर्ने उद्देश्यले एकल गायन प्रतियोगिता सञ्चालन गरिएको आयोजक साईनो कलाकेन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । “अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन ।” उहाँले भन्नुभयो, “अवसर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत सँगीतमा लाग्ने वातावरण निर्माण गर्न हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।”
साईनो कला केन्द्र र हलेसी टाईम्स दैनिकको सहकार्यमा गत पुस ९ गतेदेखि २८ गतेसम्म पालिकास्तरीय अडिसन सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तह तथा दाताहरुले आर्थिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया