आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ः प्रदेशस्तरीय तेक्वान्दोमा सुनसरी प्रथम

Halesi
0 Shares

खोटाङ, ८ चैत ः तेक्वान्दोको १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुनसरी प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङमा आयोजित तेक्वान्दोको प्रदेशस्तरीय छनोट प्रतियोगितामा दश स्वर्ण र पाँच कास्य पदकसहित सुनसरीले प्रथम स्थान प्राप्त गरेको हो । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबार सञ्चालित प्रतियोगितामा तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जित्दै मोरङ दोस्रो र तीन स्वर्ण र एक कास्य सहित उदयपुरले तेस्रो स्थान प्राप्त गरेको छ । सुनसरीका लागि ग्यारोगीतर्फ ७३ केजीमाथिका समूहमा पूजा राई, ८७ केजी तलको समूहमा अनिश श्रेष्ठ र ८७ केजीमाथिका समूहमा पदमबहादुर तामाङले स्वर्ण पदक दिलाएका छन् ।

पुम्सेतर्फ पनि सबै स्वर्ण पदक सुनसरीले हात पारेको छ । पुरुष एकल पुम्सेमा सुनसरीका अर्जुन सुनुवार, महिला एकल पुम्सेमा सिना मादेन, जोडी पुम्सेमा अर्जुन सुनुवार र सिना मादेनको जोडीले स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राईले बताउनुभयो । ग्यारोगीमा मोरङका लागि ४६ केजी तल अर्चना राजवंशी, ८० केजी तल इश्वर बासकोटा र ६८ केजी तल आकाश उप्रेतीले स्वर्ण पदक जितेका छन् । उदयपुरका लागि ग्यारोगीतर्फ ६३ केजी तल इन्दिरा बस्नेत, ७३ केजी तल लक्ष्मी सुनुवार र ५३ केजी तल सन्ध्या सिंले स्वर्ण पदक जिताएकी छन् ।

प्रतियोगितामा ४६ केजी तल भोजपुरकी सुस्मिता राई, ४९ केजी तल झापाकी अन्जु श्रेष्ठ, ६७ केजी तल ओखलढुङ्गाकी अनिका राजभण्डारी, ५४ केजी तल झापाका अरुण डाँगी, ५८ केजी तल खोटाङका मोहन राई र ६३ केजी तल ईलामका मिलनकुमार शेर्माले स्वर्ण पदक जितेका पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । विजयी टोली तथा खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ लगायत अतिथिले मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया