खोटाङ । सहकारी दिवसको अवशरमा खोटाङमा एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा खोटाङ हलेसी सामुदायीक अस्पतालले मंगलबार स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
शिबिरमा ४७२ सर्वसाधारणको स्वास्थ्य जाँचका साथै उपचार सेवा प्रदान गरिएको खोटाङ हलेसी सामुदायीक अस्पतालका मेनेजिङ डाइरेक्टर अर्जुन चौंलागाईले बताए । गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको विशेषज्ञ तथा प्राविधिक सहयोगमा खोटाङ हलेसी सामुदायीक अस्पतालले एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
शिबिरमा गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरका हाडजोर्नी, नशा तथा बाथरोग बिशेषज्ञ डा. सञ्जयकुमार शाह, स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा एमडि अजिज र जनरल फिजिसियन डा. अशोक तिवारीले स्वास्थ्य सेवा प्रदान गरेका छन्। जिल्लामै बिशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि शिबिर आयोजना गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जयन्ती राईले बताईन्। स्वास्थ्य शिबिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।