साउदी कम्पनी अरामकोले तोड्यो सबै रेकर्ड

Halesi
0 Shares

एजेन्सी । विश्वको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामको सबैभन्दा अधिक मुनाफा कमाउने कम्पनी बनेको छ। अमेरिकी प्रविधि कम्पनी एप्पललाई पछि पार्दै अरामको सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बनेको हो। रेटिङ्ग एजेन्सी मूडीजका अनुसार, साउदी अरामको कम्पनीले २०१८ मा १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो। यो एप्पलको भन्दा ४६ प्रतिशतले बढी हो। विश्वको सबैभन्दा धेरै नाफा कमाउने कम्पनीका रूपमा रहेको एप्पलले गत वर्ष ५९.३ अर्ब डलर नाफा कमाएको थियो।

साउदी अरामकोको उक्त नाफा फेसबुक, अल्फाबेट, मोर्गन चेज र एक्सोन मोबिलको कुल नाफाभन्दा पनि बढी हो। २०१८ मा यि सबै कम्पनीको मुनाफा जोड्दा जम्मा १ खर्ब ६ अर्ब डलर हुन्छ । एक्सोन मोबिल अमेरिकाको सबैभन्दा ठूलो तेल कम्पनी हो। उसले गत वर्ष २० अर्ब ८० करोड डलर नाफा कमाएको थियो।

साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलोपटक वित्तिय विवरण सार्वजनिक गरेको हो। २०१८ मा अरामको आम्दानी ३ खर्ब ५५ अर्ब ९० करोड रह्यो। २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको आम्दानी बढेको हो। अरामको पछिल्लो समय साउदीको पेट्रोकेमिकल कम्पनीलाई ६९ अर्ब १० करोड डलरमा खरीद गर्ने योजनामा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया