खोटाङ, २३ चैत ः जनप्रतिनिधि र नेपाल पत्रकार महासङ्घ खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासङ्घ विजयी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित शिखर खेल मैदानमा शुक्रबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा १ का बिरुद्ध ३ गोल गर्दै पत्रकार महासङ्घ विजयी भएको हो ।
पत्रकार महासङ्घकाको तर्फबाट उपाध्यक्ष रामधन राईले दुई र अध्यक्ष दमन राईले एक गोल गर्नुभएको थियो । जनप्रतिनिधिका तर्फबाट नगरप्रमुख दिपनारायण रिजालले एक गोल फर्काउनुभएको थियो । नवनिर्मित खेल मैदान उद्घाटन कार्यक्रमको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, संविधासभा सदस्य पाँचकर्ण राई ‘पिके’, नगरप्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु मैदानमा उत्रनुभएको थियो ।
जिल्लामा पहिलो पटक आयोजित मैत्रीपूर्ण फुटबल खेलले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो । मैत्रीपूर्ण फुटबल खेलमा सहभागी समूहलाई खेलमैदान निर्माण उपभोक्ता समितिले जनही छ÷छ हजार नगद प्रदान गरेको छ । खेल मैदान उद्घाटन कार्यक्रममा शोम्याच प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
नगरपालिकाको रु २१ लाख ८२ हजार ५२१ लगानीमा निर्माण भएको खेल मैदान प्रतिनिधिसभा सदस्य भट्टराईले उद्घाटन गर्नुभएको थियो । गत फागुन १९ बाट निर्माण शुरु गरिएको खेल मैदान सम्झौता मितिभन्दा दुई महिनाअघि नै सम्पन्न भएको हो । खेल मैदानका लागि स्थानीय तीन जना दाताले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
छोटो समय र थोरै लगानीमा निर्माण भएको शिखर खेल मैदान जिल्लाकै सबैभन्दा ठूलो खेल मैदान हो ।