बाक्सिला गोल्डकप ः खाराम्बु स्पोर्टस् क्लव खार्मी फाइनल प्रवेश

Halesi
0 Shares

खोटाङ, २६ चैत ः खाराम्बु स्पोर्टस् क्लव खार्मी बाक्सिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको सेमिफाइनल खेलमा बाक्सिला फुटबल क्लव बाक्सिलालाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै खार्मी दशौँ संस्करणको बाक्सिला गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेल मैदानमा मध्यान्हपछि भएको खेलको निर्धारित समयमा दुवै क्लवको तर्फबाट दुई÷दुई गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । छिनोफानोका लागि दुवै टोलीका पाँच÷पाँच जना खेलाडीले ट्राईब्रेकर प्रहार गर्ने सहमती भएअनुसार खाराम्बु स्पोर्टस् क्लवका गोल रक्षकले बाक्सिला फुटबल क्लवका खेलाडीले प्रहार गरेको एउटा गोल रोकेको हो ।

खाराम्बु स्पोर्टस क्लव सोमबार भएको क्वाटर फाइनल चरणको खेलमा बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । आज (मङ्गलबार) नै केपिलासगढी गाउँपालिका र भगवती स्पोर्टस् क्लव खोटाङबजारबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजकले जनाएको छ ।

गाउँपालिका र क्लवबीच हुने प्रतियोगिताको विजयी टोलीसँग खाराम्बु स्पोर्टस क्लवले बुधबार फाइनल खेलमा प्रतिस्पर्धा गर्ने आयोजक बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५१० रुपैयाँ नगदका साथमा गोल्डकप, मेडल र प्रमाणपत्र, उपविजेताले रु ७५ हजार १०, ट्रफी, मेडल र प्रमाणपत्र र सेमीफाइनलिष्ट दुई समूहले जनही रु १५ र १५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टोलीलाई जनही रु पाँच र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । चार जना मात्र बाहिरी जिल्लाका खेलाडी सहभागी गराइएको प्रतियोगितामा जिल्लामै पहिलो पटक एक टोलीमा ११÷११ जना खेलाडी मैदान उतारिएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५१० राशीको पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि सञ्चालन भएको नवौँ संस्करणको प्रतियोगितामा राष्ट्रिय समाचार समितिका खोटाङ सम्वाददाता पत्रकार केदार मगरलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया