बाक्सिला गोल्डकप ः केपिलासगढी गाउँपालिका र भगवती स्पोर्टस क्लवबीचको सेमिफाइनल खेल रोकियो

Halesi
0 Shares

खोटाङ, २६ चैत ः बाक्सिलामा जारी जिल्लाकै सर्वाधिक ठूलो धनराशीको दशौँ ‘बाक्सिला गोल्डकप’ रनिङ फुटबल प्रतियोगिता अन्तरगत आज (मङ्गलबार) भएको केपिलासगढी गाउँपालिका र भगवती स्पोर्टस् क्लवबीचको सेमिफाइनल खेल बिबादका कारण रोकिएको छ । दिउसोबाट शुरु भएको खेलको दोस्रो हाफको तेह्रौँ मिनेटमा रेफ्रीले भगवती स्पोर्टस् क्लवका खेलाडीलाई पेनाल्टी शुट गर्ने अवसर दिएपछि केपिलासगढीका खेलाडीले बिरोध गर्दा खेल रोकिएको हो ।

केपिलासगढी गाउँपालिकाका खेलाडीले डिबक्सभित्र ह्याण्ड (हातले गोल) छोएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएको आयोजक बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो । “खेलको पहिलो हाफमा केपिलासगढी गाउँपालिकाले एक गोल गरेको थियो ।” उहाँले भन्नुभयो, “दोस्रो हाफ शुरु भएको तेह्रौँ मिनेटमा बिबाद भएपछि खेल स्थगित गरिएको छ ।” उहाँले थप्नुभयो, “भोलि बिहान सात बजेबाट पुनः बाँकी ३२ मिनेटका लागि खेल सञ्चालन गर्ने सहमती भएको छ ।”

बाक्सिलास्थित पृथ्वी माविको खेल मैदानमा मङ्गलबार मध्यान्ह भएको पहिलो सेमिफाइनल खेलमा बाक्सिला फुटबल क्लव बाक्सिलालाई ट्राईब्रेकरमा हराउँदै खाराम्बु स्पोर्टस् क्लव खार्मी फाइनल प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै क्लवको तर्फबाट दुई÷दुई गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो ।

दुई क्लवबीचको छिनोफानोका लागि दुवै टोलीका पाँच÷पाँच जना खेलाडीले ट्राईब्रेकर प्रहार गर्ने सहमती भएअनुसार खाराम्बु स्पोर्टस् क्लवका गोल रक्षकले बाक्सिला फुटबल क्लवका खेलाडीको एउटा गोल रोकेको आयोजकले जनाएको छ । खाराम्बु स्पोर्टस् क्लवले अब भोलि हुने केपिलासगढी गाउँपालिका र भगवती स्पोर्टस् क्लवबीचको खेलमा विजयी हुने टोलीसँग फाइनल खेल खेल्ने जनाइएको छ ।

खाराम्बु स्पोर्टस क्लव सोमबार दिउसो भएको क्वाटरफाइनल चरणको खेलमा बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । भगवती स्पोर्टस क्लवले क्वाटरफाइनलको खेलमा खोटाङ फुटबल एकेडेमीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

गत चैत २३ गतेबाट शुरु गोल्डकप प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५१० नगदका साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभयो । प्रतियोगिताको उपविजेताले रु ७५ हजार १०, ट्रफी, मेडल र प्रमाणपत्र र सेमीफाइनलिष्ट दुई समूहले जनही रु १५ र १५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टोलीलाई जनही रु पाँच र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । चार जना मात्र बाहिरी जिल्लाका खेलाडी सहभागी गराइएको प्रतियोगितामा जिल्लामै पहिलो पटक एक टोलीमा ११÷११ जना खेलाडी मैदान उतारिएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५१० राशीको पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि सञ्चालन भएको नवौँ संस्करणको प्रतियोगितामा राष्ट्रिय समाचार समितिका खोटाङ सम्वाददाता पत्रकार केदार मगरलाई प्रदान गरेको थियो ।

देशविदेशमा रहेका सुभेच्छुक तथा दाताबाट संकलन गरिएको चन्दा र स्थानीय सरकारबाट प्राप्त सहयोगबाट सञ्चालन गरिएको प्रतियोगितामा ११ टोलीले सहभागिता जनाएका छन् । यसअघि सम्पन्न नवौँ संस्करणको प्रतियोगिताको उपाधि बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपाले उचालेको थियो ।

तपाईको प्रतिक्रिया