खोटाङ, २८ चैत ः जिल्लाकै सबैभन्दा ठूलो धनराशीको बाक्सिला गोल्डकप पुटबल प्रतियोगिताको उपाधि खाराम्बु स्पोर्टस् क्लव खार्मीले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा बुधबार बेलुका सम्पन्न फाईनल खेलमा भगवती स्पोर्टस क्लव खोटाङबजारलाई १ का बिरुद्ध २ गोल गर्दै खार्मीले दशौँ संस्करणको बाक्सिला गोल्डकपको उपाधि चुमेको हो ।
हारसँगै भगवती स्पोर्टस क्लव खोटाङबजारले उपविजेतामा चित्त बुझाउनु परेको छ । गत चैत २३ गतेदेखि जारी प्रतियोगितामा आयोजक बाक्सिला फुटबल क्लव र केपिलासगढी गाउँपालिका सेमीफाइनलिष्ट भएका छन् ।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १४ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपका विजेतालाई नगद रु एक लाख ५५ हजार ५१० को साथमा रनिङ कप, मेडल र प्रमाणपत्र, उपविजेतालाई नगद रु ७५ हजार १० तथा सेमीफाईनलिष्टलाई नगद रु १५÷१५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टको उपाधि खारम्बु स्पोर्टस क्लवका सुशान्त तामाङ, उत्कृष्ट गोल किपरको उपाधि भगवती स्पोर्टस क्लव खोटाङबजारका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्डरको उपाधि खाराम्बु स्पोट्स क्लवका करन मगर, उत्कृष्ट मिडफिल्डरको उपाधि भगवती स्पोर्टस क्लवका शरद राई, उत्कृष्ट स्ट्राइकर र हाइस्कोररको उपाधि भगवती स्पोर्टस क्लवका अर्जुनकुमार राना घोषित भएका छन् ।
उनीहरुलाई जनही नगद रु ५÷५ हजार प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो । ११ टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा खाराम्बु स्पोर्टस क्लव अनुशासित टोली घोषित भएका छन् ।
प्रतियोगिताका विजेतालाई केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई, नेता भक्तजङ राई, बाक्सिला फुटबल क्लवका पूर्वअध्यक्ष समिर राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । २०७३ सालमा नवौं संस्करण सञ्चालन गरेको फुटबल क्लवले झण्डै तीन वर्षपछि बाक्स्लिा गोल्ड कपको दशौँ संस्करणको आयोजना गरेको हो ।
जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको आयोजक बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको अवसर पारेर क्लवले दुई खेलाडीलाई पुरस्कृत गरेको छ ।
किकथाई बक्सिङका राष्ट्रिय खेलाडी बरुण घले र एथ्लेटिक्स खेलाडी दिर्पा बस्नेतलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको माध्यमबाट आफ्नो जिल्लाको नाम फैलाइरहेका खेलाडीलाई थप प्रोत्साहन गर्न पुरस्कृत गरिएको क्लवका अध्यक्ष राईले जानकारी दिनुभयो ।
खेलाडी घले र बस्नेतलाई जनही रु ५ हजार ५ का दरले कदरपत्र सहित पुरस्कृत गरिएको छ । पुरस्कृत दुबै खेलाडी केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका हुन् ।
यस्तै, बाक्सिला फुटबल क्लवले खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलाई पनि सम्मान गरेको छ । फुटबलको व्यवसायिक विकासमा पु¥याएको योगदानको कदर स्वरुप राईलाई सम्मान गरिएको क्लवले जनाएको छ ।
बाक्सिला गोल्डकपले प्रदान गर्दैआएको खेल पत्रकारिता पुरस्कार यसपल्ट पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिएको छ । गोल्डकप सञ्चालनका क्रममा प्रदान गरिँदै आएको रु ५ हजार ५१० राशीको खेल पत्रकारिता पुरस्कार समायोजन खबर डटकमका सम्पादक पत्रकार शेर्पालाई प्रदान गरिएको हो ।
यसअघि पत्रकार बिमला केयरलेस, दमन राई र राष्ट्रिय समाचार समितिका खोटाङ सम्वादतादा पत्रकार केदार मगरलाई सो पुरस्कार प्रदान गरिएको थियो ।