दोहोरो गोली हानाहानमा परि आठ प्रहरीसहित १५ जनाको मृत्यु

Halesi
0 Shares

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताउनुभयो ।

यस झडपमा कम्तीमा दश सुरक्षाकर्मी र छ जना विद्रोही घाइते भएका छन् । चाद्र्रा जिल्लाको ठूलो भागमा कब्जा गरेर बसेका तालिबान लडाकू समूहले भने यस झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।२०१४ को अन्त्यमा नेटोले अफगान युद्धमा प्रत्यक्ष सहभागी नहुने घोषणा गरेलगत्तै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबलको हातमा आएको थियो ।

अफगान सुरक्षा अधिकारीहरुले सन् २०१५ को जनवरी १ बाट सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो काँधको लिएपछि सो समयदेखि हालसम्म अफगान सुरक्षा अधिकारीको हताहतको सङ्ख्या बढेको छ ।गृहयुद्धमा रहेको अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट समूहहरुले सुरक्षा र सरकार समर्थक अधिकारी लक्षित बारम्बार आक्रमण गर्दै आएका छन् । सिन्ह्वा

तपाईको प्रतिक्रिया