काठमाडौं । आफू र आफ्नी आमालाई अमेरिकी सीमा अधिकारीहरूले हिरासतमा लिएको बेलामा रोइरहेकी बालिकाको तस्वीरले बिहीवार प्रतिष्ठित वर्ल्ड प्रेस फोटो पुरस्कार जितेको छ ।गेट्टी संस्थाका वरिष्ठ फोटोग्राफर जोन मूरले होन्डुरसबाट आएकी आमा सान्द्रा सान्चेज र छोरी यानेलाले अमेरिका र मेक्सिकोको सीमा अवैध रूपमा पार गरेपछि यो तस्वीर लिएका थिए ।
पुरस्कारका निर्णायकहरूले यो तस्वीर मनोवैज्ञानिक हिंसा देखाउन सफल रहेको बताए । रोइरहेकी बालिकाको तस्वीर संसारभरि प्रकाशित भएको थियो । वाशिङटनले हजारौं आप्रवासीलाई आफ्ना बालबालिकाबाट छुट्ट्याउने विवादास्पद नीतिको सार्वजनिक आलोचना यो तस्वीर प्रकाशन गरिएपछि भएको थियो ।
अमेरिकाका भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूले पछि यानेला र उनकी आमालाई नछुट्ट्याइएको बताए पनि सार्वजनिक आलोचना भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यो नीतिलाई गत वर्षको जुन महिनामा उल्ट्याएको निर्णायकहरूले बताए ।मूरले रियो ग्रान्डे उपत्यकामा औंसीको रात अमेरिकी सीमा गश्तीका एजेन्टहरूको तस्वीर लिँदै गर्दा ती एजेन्टहरूले सीमा पार गर्न खोजिरहेका मानिसको एक समूहलाई भेटे ।
ती मानिसको अनुहारमा अनि आँखामा डर मैले देख्न सक्थें, मूरले अमेरिकाको नेसनल पब्लिक रेडियोसँगको अन्तर्वार्तामा बताए ।-एजेन्सी