श्रीलंकामा शृङ्खलाबद्ध विस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो, मारिनेमा विदेशी नागरिक पनि

Halesi
0 Shares

एजेन्सी । श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् ।

१० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि बताएका छन् ।

आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको दुई घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्राइनमा पनि क्षति पुगेको थियो ।

डेली मेलका अनुसार श्रीलंकामा भएको शृङ्खलाबद्ध हमलामा कम्तिमा ३५ जना विदेशी नागरिक मारिएका छन् । अस्पताल स्रोतका अनुसार मारिने विदेशी नागरिकमा बेलायती, डच, पोर्चुगिज र अमेरिकी नागरिक रहेका छन् । घटनामा जापानी नागरिक पनि घाइते भएको बताइएको छ ।

घटनापछि सेन्ट एन्थोनीमा पुगेका एएफपीका फोटोपत्रकारले भुइँमा यत्रतत्र छरिएको अवस्थामा देखेको जानकारी दिएका छन् ।चर्चको छत नै बम विस्फोटमा क्षतिग्रस्त बनेको थियो भने भुइँमा जमेको रगतको तालमा छतको टाइल्स र काठका टुक्राहरु तैरिहरेका थिए ।

तपाईको प्रतिक्रिया