एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम लक्ष्मीनारायण, एम रानगप्पा र केजी हनुमनथारयप्पा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटका घटनाहरुमा परेर सो पार्टीका ३ नेताहरु घाइते भएको समेत जनाइएको छ ।
घटनाप्रति भारतीय विदेशमन्त्री सुश्मा स्वराज र कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले दुःख व्यक्त गरेका छन् । वम विष्फोटको घटनामा सो पार्टीका अन्य ३ जना बेपता भएको समेत जनाइएको छ । जेडिएसका यी नेताहरु छुट्टी मनाउन श्रीलंका गएका थिए ।
राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्चमा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ ।
प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।