भरतपुर । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।
सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उत्पादन लागत नोक्सानीमा थियो, उनले भने, लागत मूल्यअनुसार अझै कम मूल्य हो, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।
वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो ।
किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ ।
बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो ।अण्डाको मूल्य घट्ने/बढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।
एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन् । पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ ।