कहालीँदो कांग्रेस

Halesi
0 Shares

भिम राई
अहिले मूलकको राजनीतिमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान संचालन गरिरहको छ । सत्तापक्षले उन्माद र लहडमा केही खराब निर्णयहरु गरेमा प्रतिपक्षले यसको खबरदारी गर्ने आमनागरिकलाई जागरुक बनाउने भूमिका प्रतिपक्षको रहन्छ । लोकतान्त्रिक विधि र प्रकृयामा सरकारको रखवारी गर्ने प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेसले ढिलो गरेर जागरण अभियान संचालन गरिरहेको छ । स्थानीय तहका सबै तहहरु नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्नो उपस्थिती देखाउन लागिपरेको कांग्रेसले आफ्नो कमजोर तागत प्रस्तुत गरेको छ । जिल्ला जिल्लामा राजनीतिक मञ्चहरुको रिक्ततामा खालि ठाउँ भर्ने महत्वपूर्ण समयका बेला आफुभित्रको आन्तरिक किचलो र कलहमा फस्दै भएपनि कांग्रेस पार्टीले यो अभियान चलाउने जुन हिम्मत गरेको छ । लोकतन्त्रको सदुपयोगका हिसाबमा राम्रो देखिएको छ । यद्यपी कांग्रेस वृत्तमा यो अभियानले उत्साह र निराशा दुवै सिर्जना गरेको प्रत्यक्ष देखिन थालिएको छ ।

यता कांग्रेस गाउँ–गाउँमा गएर जागरण अभियानको नाममा देश दौडाहा गरिरहेको छ । उता उसकै कार्यकताहरु भने पार्टी परित्याग गर्दै अन्य पार्टीहरुमा जान थालेका छन् । सामन्यत यो राजनीतिक इच्छा चाहानाको कुरा व्यक्तिगत हुन्छ र हुनुपर्छ । तरपनि नेपाली जनताको इच्छा र चाहाना अनुसार कांग्रेसले बाटो समात्न सकेन । गएको स्थानीय तह, संघ र प्रदेशको निर्वाचनको बेलामा देखाएका कांग्रेसी चरित्र र पछिल्लो समयमा नेतृत्वले पार्टी पंक्तीमा सुदृढीकरण अभियान सञ्चालन गर्न नसक्दा यी सबै परिवेशहरुको जन्म भएको कुरा नर्कान मिल्दैन । कांग्रेसवृत्तमा एउटा छुट्टै संस्कार र विचारहरु रहेका छन् । लोकतान्त्रिक विधि र प्रकृयालाई हदैसम्म आत्मसाथ गर्ने यो राजनीतिक दलको सदस्यले सँधैभरी कांग्रेस बन्न पाउने तर एकदिन कांग्रेस छोड्नपनि मिल्ने प्रचलन खतरनाक छ । ३६५ दिन मध्ये ३६४ दिन कांग्रेस तर निर्वाचनमा मतदान गर्ने दिन कांग्रेसका कार्यकर्ताले एकदिनका लागि पार्टी छाड्ने प्रवृत्ति कांग्रेसकालागि बाधक हो ।

एकपटक एकजना गाउँमा काकाले भनेको कुरा यो आलेखमा राख्दा अझ कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुको वैचारिक धरातल बुझ्न सजिलो हुन्छ की ? काकाले भने, ‘ मलाई नेपाली कांग्रेसका युवा नेता तथा पार्टीका महासमिति सदस्य सुवास पोख्रेलले कांग्रेस हुन निकै आग्रह गरे । मैले पनि कता कता सोँचेकै थिएँ कांग्रेस पुरानो पार्टी नै हो । विचार गर्ने की ? त्यति नै वेला भट्ट २०७० सालको संविधान सभाको चुनावलाई सम्झेँ । अनि उनलाई एउटा राम्रो जवाफ दिएँ ‘सुवास बावु म कांग्रेस त हौँला तर कांग्रेस भई सकेपछि भोट चाँही रुखमै हाल्न पाउँछु त ? २०७० सालमा त कांग्रेसले रुखमा भोट हाल्न पाएनन् रे त ! तँपाइले नै हामी कांग्रेस नै हो तर यसपाली भोट चाँही सुर्यमा भन्दै हुनुहुन्थ्यो रे नी !’

हो यो माथीका प्रसँगले पनि कांग्रेसलाई कसैले कमजोर बनाई राख्न पर्दैन भन्ने कुराको प्रमाणित गर्दछ । कांग्रेसको कमजोरी नै वैचारीक रुपमा प्रतिवद्ध कार्यकता भन्दा गुटगत नेता तथा कार्यकर्ताको बाहुल्यताको कारण हो । नेतृत्वको स्कुलिङ र पृष्ठभुमि फरक फरकरुपमा आउँदा खुरापात देखि छुरापात सम्म चल्ने भएकैले अहिले नेपाली कांग्रेसप्रति जनताको आकर्षण घट्दो छ । एकजना खोटाङ कांग्रेसका अगुवा नेता स्व. अटलशेर राईले भनेको एउटा कुराले समेत कांग्रेसको वैचारिक भन्दा बढी प्राविधिक पार्टी रहेको प्रष्ट हुन्छ । कुनै दिन यो पंक्तिकारसँगको गफगाफकै शिलसिलामा स्व. राईले भनेका थिए । ‘कांग्रेस सबै खेलाडीहरुको पार्टी हो । यहाँ जम्मा तिन खेलका खेलाडीहरु रहेका छन् । पहिलो खेल हो लुडो । जो कुन वेला भ¥याङ चढेर माथी पुग्छ थाहा हुदैन । कुन बेला सर्पको मुखमा पर्छ छेरेर तल झर्छ थाहा हुँदैन । यो पहिलो प्रवृत्तिको नेताको नाम समेत उनले उल्लेख गरेका थिए ।

त्यस्तै कांग्रेसमा भएको अर्को खेल हो भलिवल । जस्को स्पाइकर एकजना हुन्छन् उनले ठोकेको ठोकेकै गर्ने अरु उसका समर्थकले लिफ्टरको रुपमा कोर्टमा आएको बललाई उठाइदिइरहनु पर्ने । जस्मा लिफ्टरको भुमिका उनले आफै रहेको उदाहरण दिएका थिए । अन्तिममा उनले कांग्रेसमा भएको डरलाग्दो खेल चेस भएको बताएका थिए । यस्ता खेलाडी काठमाडौं तथा शक्ति केन्द्रको वरीपरी घुमेर बस्ने तर त्यहीबाट गोटी चालेर बस्ने अन्तिममा राजालाई चेस हान्ने तथ मन्त्रि खाने बेलामा फुत्त बोर्डमा देखिने प्रवृती । जसमा पर्ने व्यक्ति समेत उनले औल्याएका थिए ।
यी माथीका सबै प्रसँगको आधारमा हेर्दा कांग्रेस वैचारीक, शैद्धान्तिक भन्दा बढी प्राविधिक पार्टी भएको कारण कमजोर हुन थालेको छ । राजनीतिमा सबै कुरा चल्छ भन्ने प्रवृत्तिका कारण पार्टीमा अनुशासनको अभाव रहेको बाहिरबाट देखिएको छ । पछिल्लो निर्वाचनमा कांग्रेसले ल्याएको परिणामले कांग्रेस अहिलेको अवस्था आउला भन्ने आकलन कमैले गरेका थिए । तर उनीहरुकै क्रियाशिलता, पदिय खिचातानी, कार्यकर्ताको अंकगणित नमिल्दा यो अभिमत समेत भारी भएको देखिन्छ । प्रतिपक्षको भूमिकामा रहेर सरकारको कामहरुको रखवारी गर्ने जिम्मेवारी पाएको कांग्रेसले छाँया सरकारको गठन गर्नमै एकवर्ष लगाएपछि यो अभिमत कांग्रेसलाई बोक्नै नसक्ने भारी जस्तो भएको छ ।
लेखक ः किरात राई पत्रकार संघका केन्द्रिय अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया