बिबिसी । भारतीय वायुसेनाको विमान एएन–३२ असमको जोरहाटबाट उडान भरेसँगै वेपत्ता भएको छ । वेपत्ता विमानमा चालक दलका सहित जम्मा १३ जना रहेको बताइएको छ । सबै यात्रु वायुसेना अन्तर्गतका भएको भारतीय सेनाका प्रवक्ता विंग कमाण्डर रत्नाकर सिंहले बताएका छन् ।
सिंहले बताए अनुसार विमान दिउसो १२ः२५ मा अरुणाचल प्रदेशको मेचुकाको लागि उडेको थियो । उडेको केहि समयमै विमान सम्पर्कविहिन भएको थियो । विमानका एयर ट्रैफिक कन्ट्रोल अर्थात एटीसीसँग अन्तिम सम्वाद दिउसो १ बजे भएको थियो । तर विमान मेनचुका एयरपोर्ट पुगेको छैन् । जसको खोजी भारतीय सेना गरिरहेको बताइएको छ । उपलब्ध साधनको प्रयोग गर्दै विमानको खोजीलाई तिव्रता दिइएको भारतीय सैन्य प्रवत्ताले बताएका छन् ।
सन् २०१६ मा पनि भारतीय वायुसेनाको एएन–३२ विमान वेपत्ता भएको थियो । विमान चेन्नईदेखि अंडमानलागि उडान भरेको थियो । तर बंगालको खाडी हुँदै उड्दै गर्दा विमान वेपत्ता भएको थियो । भारतीय वायुसेना त्यस समय विमानलाई भेटाउन असमर्थ रहेको थियो । विमानमा २९ जना सवार थिए ।