धरानमा डेंगु संक्रमित बढेको बढ्यै, अहिलेसम्म १७६ पुगे

Halesi
0 Shares

सुनसरी — नियन्त्रण हुन नसकेपछि धरानमा डेंगु संक्रमितको संख्या १ सय ७६ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। विकास साहका अनुसार डेंगुको शंका लागेर उपचार गर्न आएका ४ सय ४२ जनामा १ सय ७६ मा डेंगु पोजेटिभ देखिएको हो । उनले भने, यो संख्या गत वैशाख ३१ गतेदेखि जेठ २१ अपरान्ह ५ बजेसम्मको हो । संक्रमित सबै धरानका हुन् ।

चिकित्सकहरुले प्रि मनसुनमै धरानमा डेंगुको प्रकोप फैलिएर नियन्त्रण बाहिर पुगेकाले मनसुन सुरु भएपछि महामारी हुनसक्ने चेतावनी दिएका छन्। प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसरसमेत रहेका डेंगु नियन्त्रणका लागि गठित र्‍यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनालले अब पूर्णरुपमा सुरु हुने मनसुनको वर्षापछि फेरि एक साता पानी पर्न रोकिए महामारी हुनसक्ने बताए।

उनले भने, ठूलो वर्षा लगातार भएमा डेंगुका अण्डा लार्भा प्यूपा बगेर जान सक्छन् तर अहिलेको धरानमा फैलिएको डेंगुको प्रकोप बेलैमा नियन्त्रण गर्न नसकिए महामारी हुन सक्छ।उनले इपिडियोलोजीको ट्रेण्ड अनुसार मनसुन पछि मात्र देखिनुपर्ने डेंगु धरानमा भने प्रि मनुसनमा नै देखिएपछि चिन्ताको विषय बनेको बताए।

धरानमा फैलिएको डेंगु नियन्त्रण बाहिर गएपछि संघीय स्वास्थ्य मन्त्रालय र त्यसका विभाग, प्रदेश सरकार, धरान उपमहानगरपालिकाले प्रि मनसुनको बेलामै एडिस एजिप्टाईजातको पोथी लामखुट्टेको अण्डा, लार्भालाई नष्ट गर्नु पर्नेमा जोड दिएका छन्। गत आइतबार धरान आएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा।समीरकुमार अधिकारीले धरानको अवस्था बुझेका थिए।

बीपी प्रतिष्ठानका पदाधिकारी तथा रेस्पोन्स टिमसागको छलफलमा बृहत् रुपमा जनपरिचालन गरेर लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी र अन्तिम विकल्प भएको निष्कर्ष निकालेको थियो। धरानका २० वटै वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, स्थानीय बासिन्दाहरुले तदारुकताकासाथ सर्च एण्ड डेस्ट्राय अभियानलाई तीव्र बनाउनु पर्ने निष्कर्ष निकालेको दुई दिन बितिसक्दा पनि अभियानमा तीव्रता देखिएको छैन।

डेंगु नियन्त्रणका लागि प्रयोग गरिएको अल्फा साइफर मेथ्रिन छर्ने फगिङ मेसिनको प्रयोग कम गर्नु पर्ने, जताततै फालिएका बिर्को बिनाका सिसा र प्लास्टिकका बोतल, टायरमा जमेको पानी हटाउने, आकासे पानी थापेर खुला राखिएको भाँडा र ठूला ठूला ट्यांकीका पानीमा मट्टीतेल घोलेर नस्ट गर्ने, गमला, जमेको संग्लो पानी सुकाउने निर्णय गरेको थियो।

यसैबीच, सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु परीक्षण गर्ने पाचसय किट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सोमबार उपलब्ध गराएको छ। संक्रमितको संख्या बढेपछि रोग पहिचान गर्न चाहिने आवश्यक सामग्री र किट अभाव भएको बेला महाशाखाले ती किट र सामग्री उपलब्ध गराएको हो।

चिकित्सकहरुका अनुसार डेंगु सार्ने एडिस एजिप्टाई पोथी मच्छरको डेंगु मच्छरको आयु ३० दिनको हुन्छ। जमेको संग्लो पानीमा अण्डा लार्भा र प्यूपा हुन १० दिन लाग्छ। पानी सुके पनि अण्डा भने वर्ष दिनसम्म रहिरहने भएकाले डेंगु नियन्त्रण गर्न मुस्किल भएको छ।

यसैबीच धरान उपमहानगरपालिकाले बढो प्रकोप नियन्त्रणका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि सहयोग र सामान्य गर्न पत्राचार गरेको कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन्। उनले भनिन्, अनेक प्रयास गर्दा पनि डेंगु संक्रमित बढेको बढेकै भए। काबुबाहिर गएकाले सहयोग र समन्वयका लागि प्रदेश र संघमा पत्राचार गरेको हो। कान्तिपुरबाट

तपाईको प्रतिक्रिया