खोटाङमा असार २ देखि पहिलो पटक फुटबल लिग शुरु हुँदै

Halesi
0 Shares

खोटाङ, २३ जेठ ः जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै आगामी असार–२ गतेदेखि पहिलो पटक आयोजना गरिएको लिग प्रतियोगिताको तयारी पूरा भएको हो ।

लामो प्रयत्न पश्चात एन्फाको सदस्यता प्राप्त गरेपछि आयोजना हुन लागेको लिगमा जिल्ला फुटबल सङ्घमा आवद्ध दश क्लवले सहभागिता जनाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष धु्रबविक्रम राईले बताउनुभयो । जम्मा २१ खेल हुने लिग दिक्तेलबजारको माटिकोरे खेलमैदानमा असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

जिल्लामा हुने ऐतिहासिक लिगको खेल तालिका तथा खेल हुने समय समेत सार्वजानिक गरिसकेको आयोजकले जनाएको छ । सार्वजानिक गरिएको खेल तालिका अनुसार हलेसी तुवाचुङ फुटबल क्लव र नमुना स्पोर्टस क्लवबीच पहिलो खेल हुनेछ ।

यस्तै, सोल्मा स्पोर्टस क्लव र बुइपा ईलाभेन स्पोर्टस क्लव, भगवती स्पोर्टस क्लव खोटाङबजार र खोटाङ फुटबल एकेडेमी, बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टस क्लव खार्मीबीच गरी पहिलो दिन चार खेल सञ्चालन गरिने छ । लिगको समूह (ए)मा भगवती स्पोर्टस क्लव, खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लव, नमूना स्पोर्टस क्लव र नुनथला स्पोर्टस क्लव रहेका छन् ।

लिगको समूह (बी) मा बाक्सिला फुटबल क्लव, खारम्बु स्पोर्ट्स क्लव, सोल्मा स्पोर्टस क्लव, बुइपा ईलाभेन स्पोर्टस क्लव र जन्तेढुङ्गा फुटबल क्लव रहेका छन् ।समूह विजेता बन्न सफल दुई समूह फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद रु २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक समूहमा २० जना खेलाडी र ५ जना अफिसियल रहनुपर्ने प्रावधान बनाइएको छ ।

लिगमा सहभागी हुने खेलाडी जिल्लाभित्रको मात्रै रहनुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया