काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी टीभीको एक रियालिटी शो सारेगमपको फाइनल आज हुने भएको छ । नेपाली समयअनुसार आज राति ८ बजेर १५ मिनेटमा जी टिभीबाट उक्त कार्यक्रमको फिनाले शो हुने छ ।
रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ को फाइनलमा ६ जना पुगेका छन् । फाइनल ६ जना मध्ये दुई जना नेपाली बालक आयुष र प्रीतम पनि पुग्न सफल भएका छन् ।
फाइनलमा पुगेका आयुष सिन्धुपाल्चोकका हुन् । २०६३ साल साउन ८ गते जन्मिएका आयुस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ ठोकर्पाका हुन् । उनको परिवार अहिले भक्तपुरको ठिमीमा अस्थायी बसोबास गरिरहेका छन् । त्यस्तै २०६५ साल जेठ १० गते जन्मेका प्रीतम आचार्यको घर सुनसरीमा हो । आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का बासिन्दा हुन् ।
गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ । उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन् ।
सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबभन्दा पहिला प्रीतमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए । फाइनलमा पुगेका प्रतियोगीहरूले शनिवार राति भारतीय समय अनुसार ९ बजे साङ्गीतिक प्रस्तुति दिएका थिए ।