पटना । यस वर्ष बिहारमा तापक्रम असामान्य रुपमा बढेको छ । बढ्दो गर्मीका कारण पछिल्लो दुई दिनमा मात्रै ११३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिडियाले जनाएअनुसार यस वर्ष गर्मीको कारण करीब २०० को ज्यान गएको छ ।
प्रशासनद्धारा धारा १४४ लागु
बढ्दो गर्मीलाई मध्यमनजर गर्दै बिहार सरकारले धारा १४४ लागु गरेको छ । धारा १४४ लागुभएपछि मानिसहरु बिहान ११ देखि साँझ ४ बजेसम्म घरबाट बाहिर निस्कन पाउने छैनन् । सरकारले खुल्ला स्थानमा कार्यक्रम गर्न पनि निषेध गरेको छ । मौसम सामान्य नहुन्जेलसम्म यो नियम लागु हुने बताइएको छ ।
दुई दिनमा मात्रै ११३ जनाको मृत्यु
गर्मीको कारण अहिलेसम्म बिहारमा मात्रै १८४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमध्ये अधिकांश औरंगावाद जिल्लाका छन् । आपता प्रबन्ध विभागले दिएको जानकारी अनुसार गर्मीको कारण लु लागेर पछिल्लो दुई दिनमा मात्रै बिहारबाट ११३ जनाको मृत्यु भएको छ ।
लू र झाडा पखालाको कारण भएका बिरामीले कतिपय अस्पताल नै भरिएको भारतीय मिडियाले लेखेका छन् । सामान्य झानासहित आवास र दिउसोको समयमा काम गर्नुपर्ने बाध्यताले गर्दा धेरैलाई गर्मीले सताएको छ ।