खोटाङमा पहिलो पटक फुटबल लिग शुरु, आज पहिलो दिन चार खेल सम्पन्न

Halesi
0 Shares

खोटाङ, २ असार ः जिल्लामा पहिलो पटक फुटबल लिग शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै सोमबारदेखि फुटबल लिगको आयोजना गरिएको हो ।

जिल्लामा फुटबल खेल शुरु भएको लामो समय पश्चात एन्फाको सदस्यता प्राप्त गरेसँगै आयोजना गरिएको लिगमा जिल्ला फुटबल सङ्घमा आवद्ध दश क्लवले सहभागिता जनाएका छन् । जम्मा २१ खेल हुने लिग दिक्तेलबजारको माटिकोरे खेलमैदानमा असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको लिग प्रतियोगितामा हलेसी तुवाचुङ फुटबल क्लव, खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस क्लवले विजयी शुरुवात गरेको छ । हलेसी तुवाचुङ फुटबल क्लव हलेसी र नमुना स्पोर्टस क्लव लफ्याङबीच आज (सोबार) बिहान भएको पहिलो खेलमा शुन्यको विरुद्ध एक गोल गर्दै हलेसी तुवाचुङ फुटबल क्लवले विजयी यात्रा शुरु गरेको हो ।

आजै दिउसो भएको दोस्रो खेलमा ३–३ गोल गर्दै सोल्मा स्पोर्टस क्लव र बुइपा ईलाभेन स्पोर्टस क्लवले बराबरी अङ्क बाँडेको छ । भगवती स्पोर्टस क्लव खोटाङबजार र खोटाङ फुटबल एकेडेमीबीच भएको तेस्रो खेलमा शुन्यको विरुद्ध एक गोल गर्दै खोटाङ फुटबल एकेडेमी विजयी भएको छ ।

बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टस क्लव खार्मीबीच भएको तेस्रो खेलमा एकका विरुद्ध तीन गोल गर्दै खारम्बु स्पोर्टस क्लव विजयी भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको लिग फुटबल प्रतियोगिताबाट दुई समूह बाहिरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो ।

समूह विजेता बन्न सफल दुई समूहले फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद रु २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लिगको समूह (ए)मा भगवती स्पोर्टस क्लव, खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लव, नमूना स्पोर्टस क्लव र नुनथला स्पोर्टस क्लव रहेका छन् । लिगको समूह (बी) मा बाक्सिला फुटबल क्लव, खारम्बु स्पोर्ट्स क्लव, सोल्मा स्पोर्टस क्लव, बुइपा ईलाभेन स्पोर्टस क्लव र जन्तेढुङ्गा फुटबल क्लव रहेका छन् ।

प्रत्येक समूहमा २० जना खेलाडी र ५ जना अफिसियल रहनुपर्ने प्रावधान बनाइएको छ । जिल्लामा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्य समेत राखिएको फुटबल लिगमा सहभागी हुने खेलाडी जिल्लाभित्रको मात्रै राखिएको छ ।

तपाईको प्रतिक्रिया