खोटाङ, ७ असार ः जिल्लामा पहिलो पटक आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्दै बाक्सिलाले उपाधि चुमेको हो ।
हारसँगै खोटाङ फुटबल एकेडेमीले उपविजेतामा चित्त बुझाएको छ । बाक्सिला फुटबल क्लवका लागि जर्सी नम्बर ९ का गंगा मगर र जर्सी नम्बर ७ का भीम राईले पहिलो हाफमा १÷१ गोल गर्नुभएको थियो । प्रतियोगिताका विजेतालाई नगद रु २५ हजार र उपविजेतालाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा खोटाङ भगवती स्पोर्टस क्लवका जीवन परियार उत्कृष्ट डिफेन्डर, हलेसी तुवाचुङ फुटबल क्लवका डिकेन राई उत्कृष्ट मिडफिल्डर, खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय हाइस्कोरर र बाक्सिला फुटबल क्लवका नविन राई बेष्टकिपर घोषित भएका छन् । प्रतियोगिताका विजेता टोलीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दिपककुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।
खेलमा बुइपा इलाभेन स्पोर्टस र जन्तेढुङ्गा फुटबल क्लव रेलीगेसनमा परेको छ । लिगका विजेता टोलीले प्रदेशस्तरीय लिगमा प्रतिष्पर्धा गर्ने अवसर पाएका आयोजक जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो ।
गत असार ३ गतेदेखि जारी प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध दश टोलीको सहभागिता रहेको थियो । जिल्लामा पहिलो पटक आयोजित लिग प्रतियोगिताको फाइनल खेलामा सयौँको सङ्यामा दशर्कको उपस्थिति रहेको थियो ।