चिनियाँ कम्पनीले बनाइरहेको भवन भत्किँयो, कम्तीमा १५ जनाको मृत्यु, खाेजी कार्य जारी

Halesi
0 Shares

कम्बोडिया । कम्बोडियामा निर्माण हुँदै गरेको एउटा साततले भवन भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको र केही अरू व्यक्ति हराइरहेको अधिकारीहरूले बताएका छन्। भवनको भग्नावशेषमा जीवित व्यक्तिको खोजी भइरहेको छ।

तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। यो भवन चिनियाँ कम्पनीले निर्माण गरिरहेको थियो।

केही वर्षयता चिनियाँ होटल र क्यासिनोहरूको निर्माणका कारण सिहानुकभिलको रूप फेरिएको छ।

भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भग्नावशेषबाट उद्धार गरिँदै
सो भवन भएको जमिनका कम्बोडियाली मालिकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

कति जना हराइरहेका छन्?
भवनको भग्नावशेषमा उद्धारकार्य जारी छ। तर कति व्यक्ति हराइरहेका छन् भन्ने विवरणमा एकरूपता छैन। मृत्यु हुनेमा केही व्यक्ति कम्बोडियाली नागरिक भएको पुष्टि भएको छ।

उद्धारकार्यमा झन्डै एक हजार व्यक्ति खटिएका छन्। उद्धारकर्मीहरूले स्टीलको संरचना काटेर भग्नावशेष हटाउन खोजिरहेका छन्।

निर्माणमा संलग्न मजदुरहरूले आफूहरू सोही भवनमा बस्ने गरेको समाचारसंस्था एपीलाई बताएका छन्।

भत्किनुभन्दा केही समयअघि भवन थर्कियो अनि भत्किन थाल्यो, एक मजदुरले भने, भाग्न पनि नपाइनेगरी सबै कुरा भयो।

म र मेरी श्रीमतीले गुहार माग्यौँ, उनले एपीलाई बताए, हामी चिच्यायौँ तर कसैले पनि प्रतिक्रिया दिएको सुनिएन। हामीलाई भग्नावशेषमा पुरिएर मरिन्छ भन्ने लाग्यो। उनीहरू दुवै जनालाई १२ घण्टापछि उद्धार गरियो।

सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माणस्थलमा झन्डै ५० जना मजदुर थिए।

चिनियाँ प्रभाव
कम्बोडियामा अहिलेसम्म भएकामध्ये यो सबैभन्दा नराम्रो दुर्घटना हो। दुर्घटनाले सिहानुकभिलमा भइरहेको निर्माणको दर र भवनको आयुबारे प्रश्न उठाएको छ। यसबाट कम्बोडियामा चिनियाँविरोधी भावना अझ बढ्न सक्छ।

सिहानुकभिल पहिला एउटा सानो गाउँ थियो। त्यहाँका मानिसहरू माछा मारेर जीविकोपार्जन गर्थे। सन् २००० को दशकमा त्यहाँ पर्यटन फस्टायो। तीन वर्षयता त्यो ठाउँ चिन्ने नसकिनेगरी फेरिएको छ। त्यहाँ चिनियाँ पर्यटकहरूलाई लक्ष्य गरेर दर्जनौँ क्यासिनो खुलेका छन्।

कम्बोडियामा श्रमसम्बन्धी कानुन एकदमै फितलो छ। त्यसैले मजदुरहरू जोखिममा पर्छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले श्रमिकहरूले भवन निर्माणस्थलमा निरन्तर रूपमा सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित जोखिम खेप्नुपरेको बताएको छ।

तपाईको प्रतिक्रिया