खोटाङ, प्रथम क्वीक्स कप अन्तर माविस्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा जिल्ला फुटबल सङ्घ खोटाङले क्वीक्स कप प्रतियोगिता आयोजना गरेको हो ।
दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुल दिक्तेललाई ट्राइब्रेकरमा पछि पार्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले उपाधि चुमेको छ । पहिलो र दोस्रो हाफ गोलरहित सकिएपछि भएको ट्राइब्रेकरमा माउण्टएभरेष्ट बोर्डिङ स्कुलले ४ का बिरुद्ध ५ गोल गर्दै उपाधि चुमेको हो ।
ट्राइब्रेकरमा १ गोलले पछि परेपछि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुल उपविजेतामा सिमित बन्न पुगेको छ । यही असार ८ गते उद्घाटन गरिएको प्रतियोगितामा छात्रतर्फ जिल्लाका ११ माविले सहभागिता जनाएको थियो ।
यस्तै, छात्रातर्फको प्रतियोगितामा ज्योती मावि जालपा विजेता बनेको छ । जालपा माविलाई ट्राइब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै ज्योती माविले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुबैपक्षबाट गोल नभएपछि ट्राइब्रेकरबाट विजेता र उपविजेताको टुङ्गो लगाइएको थियो । छात्रातर्फ चार माविका खेलाडीको सहभागीता रहेको आयोजक जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो ।
प्रतियोगितामा छात्रातर्फ सरस्वती माविकी सजिना राई बेस्ट डिफेन्डर, जालपा मावि जालपाका सिमा राई हाइ स्कोरर, ज्योती मावि जालपाकी कला राई बेस्ट किपर र माउण्टएभरेष्ट बोर्डिङ स्कुलकी रोना राई बेस्टमिडफिल्डर घोषित भएकी छन् ।
छात्रतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका विपिन भट्टराई बेस्ट डिफेन्डर, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकै एलिस श्रेष्ठ बेस्ट किपर, दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुलका अभिषेक मगर बेष्टमिडफिल्डर र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुलकै रवीन तामाङले हाइ स्कोररको उपाधि जितेका छन् ।
विजेता समुह तथा खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । दुबै विजेता टोलीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाएका छन् ।
यसै वर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलो पटक क्वीक्स कप अन्तर माविस्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता गर्ने अवसर पाएको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले यस पटक सदस्यता दिने निर्णय गरेको थियो ।