खोटाङ, अलैँचीको भाउ निरन्तर ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका छन् । पात पहेँलो हुने, सुक्ने, कालो छिर्का लाग्ने, फुर्के हुने, गुभा कुहिने, बोट नै मर्ने जस्ता रोगले बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका हुन् ।
यसअघिसम्म राम्रो उत्पादन हुँदै आएको जिल्लाका कतिपय किसानले लगाएको अलैँचीको बगान अहिले रोगले सुकेर सोत्तर जस्तै बनेको छ । विशेषगरी केपिलासगढी गाउँपालिकाको सुङ्देल, फेदी, खार्ताम्छा, बास्पानी, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, राखाबाङ्देल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, साकेला गाउँपालिकाको रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिकुवापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, जन्तेढुङ्गा गाउँपाालिकाको चिसापानी, डम्वर्खुशिवालय लगायत ठाउँमा लगाइएका अलैँचीमा रोग देखिएको हो ।
सबैभन्दा बढी जिल्लाको केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाका उत्तरी क्षेत्रमा लगाइएको अलैँचीमा रोगको समस्या देखिएको अलैँची व्यवसायी सङ्घ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । “धान, मकै, कोदो, गहुँलगायतका अन्नबाली तथा नगदेबाली उत्पादन हुँदै आएको उर्वर खेतबारी मासेर व्यवसायिक रुपमा अलैँची खेती लगाइएको छ”, उहाँले भन्नुभयो, “केही वर्षयता देखिएको रोगका कारण अलैँची उत्पादनमा दोब्बर(तेब्बरका दरले घट्न थालेपछि दोधारमा परेका छौँ ।”
जिल्लामा २०६५ मा अलैँचीमा सामान्य समस्याका रुपमा देखा परेको पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेँलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहेँलो कमिला लाग्ने लगायत समस्याले २०६७ पछि उग्ररुप लिएको किसानको छ । करीब दुई दशकदेखि अलैँची खेती हुँदै आएको उत्तरी क्षेत्रमा देखिएको समस्या पछिल्लो समय दक्षिणी क्षेत्रमा लगाइएको अलैँचीमा पनि देखा परेको छ ।
अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले केही दशकयता जिल्लाका कृषक अलैँचीतर्फ आकर्षित हुनेक्रम बढ्दो रहेको थियो । तर, अलैँचीमा देखा परेको रोगको हल नभए अलैँचीको आम्दानी कथामा सीमित हुने अवस्था आएको छ ।
यसअघिसम्म भाउ घटे पनि जिल्लामा हरेक वर्ष अलैँची निकासीबाट करोडौँ रकम भित्रिने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा कतिपय स्थानीय तहका एउटै वडाबाट करोडभन्दा बढीको अलैँची निकासी हुने गरेको थियो ।
अलैँचीमा रोग देखा परेपछि बिरुवा खरिद गर्ने किसानको संख्या समेत कम भएको ऐसेलुखर्क गाउँपालिकाका अगुवा कृषक किशोर राईले बताउनुभयो । बिगत दश वर्षदेखि अलैँची लगायत विभिन्न प्रजातिका फलफुल तथा जडीबुटीका बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएका राईको नायुमा कृषि तथा वन नर्सरीमा अहिले अलैँचीको बिरुवा हुर्किएर खेर जाने अवस्थामा पुगेको छ ।
अलैँचीका अगुवा किसानले भने प्राविधिक ज्ञान अभावले अलैँची बगानमा रोगको प्रकोप देखिएको बताएका छन् । हाल पश्चिम वा दक्षिण मोहडा फर्केको ठाउँमा रोपिएका र बलौटे माटोमा लगाइएका अलैँचीमा बढी समस्या देखिएको छ ।
भूगोलअनुसार अलैँचीको जात छनौटमा ज्ञान नहुँदा पनि अलैँचीमा समस्या निम्तिने गरेको अलैँचीका अगुवा किसानको अनुभव छ । लेकमा फल्ने अलैँचीलाई बेँसीमा रोप्दा वा बेँसीमा फल्ने अलैँचीलाई लेकमा लगाउँदा पनि अलैँची व्यवसाय नफस्टाउने गरेको खुप्तुङ कृषि फार्म इन्द्रेणी पोखरीका सञ्चालक इन्द्र नारथुङ्गेले बताउनुभयो ।
जिल्लाका ३४ भन्दा बढी वडामा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ । मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैँचीको खेती जिल्लाको ६४ वडाको एक हजार १५० हेक्टर क्षेत्रमा गर्न सकिने सम्भावना छ ।