प्रधानमन्त्री रोजगार कार्यक्रमका युवालाई सडक हेरालुको जिम्मा

Halesi
0 Shares

खोटाङ, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत छानिएका खोटाङका अधिकांश युवालाई सडक हेरालु राखिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका अधिकांश युवालाई सडक मर्मत, ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्ने र जाली भर्ने लगायतका काममा लगाइएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडाका लागि छानिएका युवा अहिले बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म काममा खटिएका हुन्छन् । गरिबीको रेखामुनि रहेका र लामो समयसम्म बेरोजगार रहेका व्यक्तिलाई गाउँमै दैनिक रु ६१० ज्याला उलब्ध गराउनेगरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

पन्ध्रवटा वडा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८० जना युवालाई सो कार्यक्रममा रोजगार दिइएको छ । उक्त नगरपालिकाले गत जेठ २८ गते औपचारिक कार्यक्रम गरेर काममा खटाएको हो ।

नगरभित्र रहेको सबै कच्ची सडक हिउँदमा चल्ने र वर्षामा बन्द हुने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी युवालाई सडक हेरालुमा खटाइएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “नगरमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो, “गाउँमै रोजगार पाएपछि बेरोजगार युवा पनि उत्साहित बनेका छन् ।”

एघारवटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा १८३ जना बेरोजगार युवा छनोट गरेर रोजगार दिइएको छ । वडा कार्यालयको सिफारिसमा छानिएका उनीहरुलाई पनि सडक हेरालुमै खटाइएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सात वडा रहेको केपिलासगढी गाउँपालिकामा २३५ जनालाई रोजगार दिइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । उनीहरुलाई गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयमा हाजिर हुनेगरी काममा खटाइएको गाउँपालिका प्रमुख राईको भनाइ छ ।

सात वटै वडा रहेको ऐसेलुखर्क गाउँपालिकाको सबै वडामा कार्यक्रम शुरु भएको जनाइएको छ । उनीहरुलाई पनि सडकको कुलो काट्ने, पानी कटाउने जस्ता काममा लगाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।

रावाबेँसी गाउँपालिकामा पनि सडक मर्मत, नाली निर्माण, विद्यालय तथा सार्वजनिकस्थल वरपर सरसफाइ गर्ने लगायतका काममा लगाइएको पाइएको छ । छवटा वडा रहेको रावाबेँसी गाउँपालिकामा १०६ जना युवालाई रोजगार दिइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा १०४ जना बेरोजगार युवा छानिएको छ । छवटा वडाबाट आएका आवेदनका आधारमा छनोट गरिएका युवालाई सडक मर्मत तथा स्तरोन्नतिकै काममा लगाइएको गाउँपालिकाका उपप्रमुख गोमा मगरले जानकारी दिनुभयो ।

जन्तेढुङ्गा गाउँपालिकाको छ वटै वडामा एकैसाथ कार्यक्रम सञ्चालन भएको छ । वडा कार्यालयको सिफारिसमा १८० जना बेरोजगार युवा छनोट गरेर सडक मर्मतको काममा खटाइएको गाउँपालिका प्रमुख शंकर राईले बताउनुभयो ।

पाँच वडा रहेको साकेला गाउँपालिकामा पनि कार्यक्रम शुरु भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । उनीहरुलाई सडक मर्मत, विद्यालय सरसफाइ तथा सार्वजनिकस्थलहरु संरक्षण गर्न घेराबार हाल्ने काममा लगाइएको छ ।

खोटेहाङ गाउँपालिकामा भने हालसम्म रोजगार संयोजक नै खटाइएको छैन । संयोजक नहुँदा हाल वडा सचिव गोविन्द पराजुलीलाई रोजगार कार्यक्रमको सहजकर्ता तोकेर काम अघि बढाइएको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि अहिलेसम्म रोजगार संयोजकको व्यवस्था भएको छैन । रोजगार संयोजक नभएपछि वडा(वडाबाट रोजगारका लागि आवेदन मगाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया